कुश्माखर उपाध्यय घिमिरेको ५ सय वर्ष पछि पहिलो पटक स्मृति सभा

-


     नयाँ दीप    
     कार्तिक ३ गते २०८१ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ बाहुनबेसीमा राज गुरु श्री ३ कुश्माखर उपाध्यय घिमिरेको पहिलो पटक स्मृति सभा तथा धर्मसभाको अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा संस्कृती विद् प्राध्यापक डा. माधव भट्टराईको प्रमुख आतित्थ्यता रहेको थियो भने भागवत बाचिका, पूर्व राज्यमन्त्री संस्कृतविद् डा. कान्ता भट्टराईको विषेश आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा १५१० असोज २७ गते लमजुङमा जन्मिएका कुश्माकर घिमिरेले १५५० मा तत्कालिन राज्यको शासन प्रणालीलाई सहज रुपले सञ्चालन गर्नको लागि यशोब्रम्ह शाहालाई ल्याएर पुरानकोटको दरबारमा राज्यअभिषेक गरि केहि बर्ष पछि लमजुङको गाउँशहरमा रहेको दरबारमा ल्याएर लमजुङको राजा बनाई राज्य चलाएको इतिहासमा उल्लेख गरिएको छ ।

राज्यमा सुरक्षा कसरी गर्ने भन्ने शास्त्रको ज्ञाता भएका, सबै जातजातीलाई समान अवसर प्रदान समावेसी बनाउनेका काम पनि कुश्माखर घिमिरेले गरको भएपनि त्यस्ता ऐतिहासिक व्यक्तिलाई इतिहासले विर्सिएको कार्यक्रममा बताइएको थियो ।
घिमिरेले राष्ट्रिय झण्डाको परिकल्पनाकार भएको र लमजुङका ८ वटा कोटहरुको प्रतिनिधित्व गर्दै राष्ट्रिय झन्डामा ८ वटा कोणहरु उल्लेख भएको भन्दै पनि उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने कुरा प्रमुख अतिथि प्रा.डा भट्टराईले बताउनुभयो । तत्कालिन समयमा श्री ३ र श्री ६ को उपाधी पाउने नेपालको अहिले सम्मकै इतिहासमा कुश्माखर घिमिरे भएको एक मात्रै व्यक्ति भएको प्रा डा भट्टराईको भनाई छ ।

त्यस्तैगरी प्रा.डा भट्टराईले राष्ट्रिय र धर्म संस्कृति भनेको एउटै सिक्काका दुईवटा पाटा भएकाले अनुशासन बस्नु र आफ्नो कर्तव्य पालना गर्नु नै धर्म हो भन्नुभएको थियो भने कुश्माखर घिमिरेले तत्कालिन समयमा गरेको कामको चर्चा गर्नभएको थियो ।
घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान काठमाडौंको संयोजन तथा घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान लमजुङको आयोजनामा भएको हो । लमजुङ अध्यक्ष युवराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य दिपक घिमिरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका केन्द्रिय सदस्य रामप्रसाद घिमिरे, नेपाल ज्योतिष परिषद्का पूर्व अध्यक्ष घनश्याम सुवेदी, विश्व हिन्दु महासंघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रविण घिमिरे, घिमिरे कुलदेवता गुठी लमजुङका अध्यक्ष श्रीकान्त घिमिरे, विश्वहिन्दु महासंघ लमजुङका अध्यक्ष शालिग्राम अधिकारी लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो भने कार्यक्रममा जिल्ला उपाध्यक्ष अगंराज घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा ८० वर्ष भन्दा माथिको उमेर भएका घिमिरे ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा नरहरी पौडेलको अध्यक्षतामा राष्ट्रिय धर्मसभा नेपाल लमजुङको तदर्थ समिति गठन गरिएको छ ।