आज कुष्ठरोग दिवस, कुष्ठरोगबारे महत्वपूर्ण जानकारी

-


     नयाँ दीप    
     माघ १४ गते २०८० मा प्रकाशित


आज जनवरी महिनाको अन्तिम आइतबार अर्थात् विश्व कुष्ठरोग दिवस । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार यो दिवस मनाइँदै आएको छ ।

आ.व २०७९⁄०८० मा नेपालमा २ हजार ५ सय २२ जना नयाँ कुष्ट रोगी फेला परेका छन् भने गण्डकी प्रदेशमा कुष्टरोगी संख्या १ सय १९ रहेको छ , लमजुङ जिल्लामा १० जना रहेका छन् भने यो वर्ष १ जना महिला थपिएको छ । गत पुस मसान्त सम्म तोकिएका निर्देशन अनुसार ३ जनाले उपचार गरी निको भएका छन् भने ८ जना अझै उपचार गराइरहेको स्वास्थ्य कार्यलय लमजुङले जनाएको छ ।

जानौं कुष्ठरोगबारे महत्वपूर्ण जानकारी

कुष्टरोग एउटा सूक्ष्म किटाणुको कारणले हुने रोग हो । यो सूक्ष्म जीवाणु शरीरमा प्रवेश गरेपछि हाम्रो शरीरमा हल्का फुस्रो खालका दाग देखा पर्न सक्छ । सो दागले तातो, चिसो तथा अन्य कुनै पनि आभास पाउँदैन । चिमोट्दा पनि थाहा पाउँदैन ।

कोही गोरो मानिसमा भने रातो रङको दाग पनि हुन सक्छ । कुष्टरोगका लक्षण कुष्टरोगको संक्रमणमा परेका बिरामीको आँखा र हातखुट्टाको नसालाई असर पार्न सक्छ । जसले गर्दा हातखुट्टा झमझमाउने, तातो चिसो छुट्याउन नसक्ने हुन्छ । बिस्तारै त्यसको असरले हातखुट्टा र आँखाको ढकनीको मांसपेशी कमजोर हुँदै जान्छ । यस्तो भएमा आँखाको ढकनी बन्द गर्न नसक्ने हुन्छ ।

त्यस्तै, हातखुट्टाका औँला कमजोर भई केही पनि समात्न नसक्ने अवस्थामा पनि पुग्न सक्छ । हातखुट्टाका औँला बाँगो हुन सक्छ । स्पर्श थाहा नपाउने भएकाले चोटपटक लोगेको या घाउ भएको पनि थाहा हुँदैन । दैनिक काम गर्दा विभिन्न किसिमका चोट लाग्न सक्छ । तर, त्यसको आभाससमेत नपाउँदा समस्या हुन सक्छ । केही बिरामीमा धेरै किटाणु भएको अवस्थामा कानका लोती झुन्डिने, जोर्नीहरु दुख्न थाल्ने जस्ता समस्या पनि देखापर्न सक्छन् ।

परीक्षणबाट थाहा हुन्छ

लक्षण देखिदैँमा कुष्टरोग लागेको यकिन गर्न सकिदैँन । यस्तो देखिएमा शंका भने गर्न सकिन्छ । नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउनु भने जरुरी हुन्छ । यसका लागि कान र प्रभावित छालाबाट तन्तु रस झिकेर ल्याब परीक्षण गर्नुपर्ने हुन्छ । तर, यो सुविधा सबै स्थानमा उपलब्ध नहुन सक्छ ।

रोगीले ध्यान दिऔँ

रोग पत्ता लागेपछि नियमित उपचार गर्नुपर्छ । चिकित्सकले जटिलता हेरेर बहुऔषधि दिन्छन् । सोहीअनुसार सेवन गर्नुपर्छ । कहिलेकाँही शरीर र किटाणुको बीचमा थप जटिलता देखिन सक्छ । रोगको रियाक्सनका कारण थप औषधि पनि दिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा स्वास्थ्य संस्थामा परीक्षण गरेर नै दिने हो । हातखुट्टाको स्पर्शशक्ति हराएको पनि हुन सक्छ । त्यस्तो भएमा स्वास्थ्यकर्मीले सिकाएअनुसार उपचार गर्नुपर्ने हुन्छ ।

हातखुट्टा चिसो बनाउने, चिल्लो पदार्थ तेल, नौनी या भ्यास्लिनको प्रयोग गरी सकेसम्म चिल्लो बनाइराख्नुपर्छ । रोगीले चोटपटक लाग्नबाट भने निकै जोगिनुपर्छ । त्यस्तै, आगो या अन्य तातोबाट पनि जोगिनुपर्छ । चिसो मौसममा जाडो भयो भन्दैमा आगो ताप्नु हुँदैन । यसको सट्टा कोठालाई न्यानो बनाउनु राम्रो हुन्छ ।

आगोको ताप अनुभव गर्न नसक्ने हुनाले रोगी झन् नजिक गएर छाला सुन्निने तथा अन्य घाउ हुने सम्भावना पनि हुन्छ । एकपटक रोग लागेपछि निर्मूल नै भयो भनेर ठोकुवा गर्न सकिँदैन । पुनः फर्कने सम्भावना पनि रहन्छ । त्यसैले पुनः लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर दोहोराएर उपचार गर्नुपर्ने हुन्छ । यस्तो दोहोरिने समस्या भने निकै कम मात्र देखिएको छ ।