किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण

-


     नयाँ दीप    
     जेठ २७ गते २०८१ मा प्रकाशित


लमजुङका विभिन्न विद्यालयका किशोरीहरुलाई पुन प्रयोग गर्न मिल्ने प्याड वितरण गरिएको छ । विकासमा महिला नामक संस्थाले किशोरीहरुलाई सुतीको कपडाबाट बनाईएको सेनेटरी प्याड वितरण गरेको हो । बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको यशोब्रह्म मावि र लमजुङ मावि, वडा नं ६ मा रहेको गंगा मिलन माविमा गरी २ सय भन्दा बढी किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण गरिएको हो ।

यशोब्रह्म माविमा भएको कार्यक्रम वडा नं ३ वडाध्यक्ष चित्रबहादुर दनाईको अध्यक्षतामा भएको थियो । विकासमा महिला संस्थाका कोषाध्यक्ष बसुधा बरालले किशोरीहरु महिनाबारी हुँदा पुन प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्दा खचिलो नहुने, स्वस्थ हुने र बातावरण प्रदुषण पनि नहुने हुनाले सबैले धोएर पुन प्रयोग गर्न मिल्ने हुदा सो प्याड नै प्रयोग गर्न सुझाब दिनुभएको थियो ।

बरालले आफ्नो ससुरा बुबा नरहरी बरालको नेतृत्वमा २०१८ सालमा स्थापना भएको यशोब्रह्म माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई कार्यक्रमको आयोजना गरी प्याड वितरण गर्न पाँउदा निकै खुशी लागेको बताउनुभएको थियो । सो कार्यक्रमको लागि गरिमा विकास बैंक, र लायन्स क्लव ३२५ जे ले आर्थिक सहयोग गरेको थियो । कार्यक्रममा विकासमा महिला संस्थाकी सदस्य रस्सा पराजुली, गरिमा विकास बैंकका बोर्ड सदस्य सरस्वती पाठक लगायतको उपस्थिती रहेको थियो ।

विकासमा महिला संस्थाले विभिन्न विद्यालयका किशोरीहरु तथा महिला समूहलाई प्याड बनाउन तालिम दिने, स्वास्थ्य सम्वन्धी सचेतना कार्यक्रम गर्ने, विद्यार्थीहरुलाई विद्यालय पोषाक तथा कापी कलम वितरण गर्ने जस्ता कार्यहरु गर्दै आइरहेको छ ।