
लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर ३ लाई बिहीबार औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । “बालअधिकार सुनिश्चितता, गौरवपूर्ण स्वाभिमान, बालमैत्री वडा कार्यान्वयन दीर्घकालीन अभियान” भन्ने मूल नारासहित आयोजित एक समारोहका विच घोषणा गरिएको हो ।
वडा नं ३ का वडाध्यक्ष चित्रबहादुर दनाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल रहुनुभएको थियो । बालबालिका सबन्धी ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री वडा घोषणा गरिएको हो । प्रमुख अतिथि अर्यालले वडाध्यक्ष दनाईलाई सम्पूर्ण प्रकृया पूरा गरेको प्रमाणपत्र हस्तान्तरण गर्नुभएकोे थियो ।

कार्यक्रमका प्रमुख अतिथि अर्यालले शुभकामना मन्तव्य राख्दै बालबालिकाको अधिकार सुनिश्चित गर्न समुदाय, विद्यालय र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले बालमैत्री अभियानलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
साथै प्रमुख अतिथि तथा अन्य सरोकारवालाहरुले बालमैत्री वडा घोषण पश्चात दिगोपनाका लागि प्रतिवद्धता सहित हस्ताक्षर गरेका थिए ।
बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले ५१ वटा सूचक पूरा गर्ने क्रममा अनुसन्धानबाट प्राप्त अंक तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी भएका गतिविधिबारे विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमममा वडा नं ३ का सदस्य उषा बरालले स्वागत राख्नुभएको भने समारोहमा नगरपालिकाका उपप्रमुमख पद्मा गुरुङ, प्रमुख प्रशासकिय अधिकृत सुमन अधिकारी, प्रमुख जिल्ला अधिकारी, लमजुङ माध्यमिक विद्यालयका प्रधानाध्यापक सीता बराल, कान्ता घिमिरे, ज्योतिचौतारा टोल सुधार समितिका संयोजक रेशम खड्का, विद्यार्थीहरु दिपेश थापा र सदिक्षा दुलालले लगायतले शुभकानमना मन्तव्य राखेको थिए ।
कार्यक्रममा वडाभित्रका आमासमूह, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

वडा नं ३ सदस्य कृष्ण भुजेलले सहजिकरण गर्नुभएको कार्यक्रममा विद्यार्थी तथा आमासमूहहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम सुरु हुनु भन्दा पहिलो गाउँसहर दरबार परिसरबाट लमजुङ माध्यमिक विद्यालयसम्म बाजागाजासहित झाँकी जुलुस निकालिएको थियो । जुलुसमा स्थानीयवासी, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।










