
लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर ३ स्थित ऐतिहासिक लमजुङ दरबार गेटसम्म मोटरबाटो कालोपत्रे गरिएको छ । सडक कालोपत्रे भएपछि स्थानीयवासीसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गर्न सहज भएको छ ।
विशेषगरी पछिल्लो समय चर्चामा रहेको काउलेपानी होमस्टेमा रमाउनको लागि दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्छन् । दरबार गेटसम्मको बनेको सडकले पनि केही सहज बनेपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको स्थानीयले बताएका छन् ।
पहाडी गाउँको प्राकृतिक सौन्दर्य, परम्परागत संस्कृति र ग्रामीण जीवनशैली अनुभव गर्न आउने पर्यटकलाई अब धुलाम्मे तथा जोखिमपूर्ण सडकको सास्ती कम हुने भएको छ ।
लमजुङ दरबार ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ । शाहवंशीय इतिहाससँग जोडिएको उक्त दरबार क्षेत्र अवलोकनका लागि आउने पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएको छ । सडक स्तरोन्नतिसँगै दरबार क्षेत्रको पर्यटन विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
यस्तै, दरबार माथिको रहेको काउलेपानी होमस्टे हुँदै गाउँशहरको गढीमा निर्माण गरिएको शान्ति स्तुपासम्म पुग्ने सडकको समेत स्तरउन्नति गर्नुपर्ने स्थानीयको माग रहेको छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको उक्त क्षेत्रमा पुग्न अहिले पनि केही स्थानमा सडक साँघुरो तथा कच्ची रहेकाले यात्रु तथा पर्यटकलाई कठिनाइ हुने गरेको स्थानीय बताउँछन् ।
स्थानीयले लमजुङ दरबार, काउलेपानी होमस्टे र गाउँशहर गढीस्थित शान्ति स्तुपालाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सडक पूर्वाधारलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । सडक, खानेपानी, संकेत बोर्ड तथा विश्रामस्थलजस्ता पूर्वाधार निर्माण गर्न सके यस क्षेत्र लमजुङकै आकर्षक पर्यटन गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।









