
लमजुङको बेसीसहर नगरपालिकामा महिलाहरूलाई सीपमूलक तथा आयआर्जनमुखी व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले प्लम्बिङ तालिम सुरु गरिएको छ।
आइतबारदेखि सुरु भएको उक्त तालिम लक्ष्मी नारायण सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तथा बेसीसहर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो। सात दिनसम्म चल्ने तालिममार्फत सहभागी महिलाहरूलाई प्लम्बिङसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।
तालिम उद्घाटन कार्यक्रम लक्ष्मी नारायण सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सुशीलचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बेसीसहर नगरपालिका वडा नं. ८ का अध्यक्ष पवित्र थापा राना प्रमुख अतिथि रहनुभएको थियो ।
उद्घाटन समारोहमा लक्ष्मी नारायण पुस्तकालयका अध्यक्ष नाराइन बहादुर सुँयल, उपाध्यक्ष नारायणप्रसाद गिमिरे, सल्लाहकार संयोजक तेजनारायण अधिकारी, सदस्य रामकृष्ण त्रिपाठी लगायतको उपस्थिति रहेको थियो।
तालिममा बेसीसहर नगरपालिकाभित्र रहेका १८ वटा महिला समूहबाट एक–एक जना प्रतिनिधिको सहभागिता रहेको छ। सहभागी महिलाहरूले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ।
आयोजक संस्थाले महिलाहरूलाई परम्परागत भूमिकाभन्दा बाहिर ल्याई प्राविधिक तथा व्यवसायिक क्षेत्रमा समेत सक्षम बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको जनाएको छ। स्थानीय तहको सहयोगमा सञ्चालन गरिएको यस्ता सीपमूलक कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरण र आत्मनिर्भरतामा टेवा पुग्ने विश्वास गरिएको छ।









