
लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको ३१ औं संस्करण सुरु भएको छ ।
सदरमुकाम बेसीशहरको सहजी खेल मैदानमा बिहिवार एक समारोहका बिच गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले रेफ्रिलाई बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गर्नुभयको हो ।

उत्घाटन खेलमा आयोजक त्रिवेणी युवा क्लव बेसिशहर र सुन्दरबजार युवा क्लब सुन्दरबजार बिच भएको छ ।
खेलमा आयोजक त्रिवेणी युवाक्लव बेसीशहरलाई १ का विरुद्ध ३ गोल गर्दै सुन्दरबजार युवाक्लव सुन्दरबजार विजयी भएको छ ।
त्रिवेणी कप फुटबल प्रतियोगिताको उत्घाटन कार्यक्रम क्लवका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको थियो भने गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङ, बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल विशेष अतिथि रहनुभएको थियो ।

सो अवसरमा नेपाली काङ्ग्रेसका सचिव एवं क्लवका संस्थापक अध्यक्ष कृष्ण बहादुर अधिकारी, नेकपा एमालेका सचिव एवं क्लवका पूर्व सचिव सुवास पौडेल लगायतका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
खेलमा नेपाल आर्मी क्लब र र महेन्द्र पुलिस क्लब सहित देशभरका २१ टिमले खेलमा सहभागिता जनाएका छन् । त्रिवेणी कपलाई लमजुङ जिल्लामा खेल उत्सबको रुपमा समेत लिने गरिएको छ ।
गतवर्ष प्रथम पुरस्कार ५ लाख दिएको क्लवले यसवर्ष ३ लाख रुपैया थप गरी त्रिवेणी कप फुटवल प्रतियोगिताको विजेतालाई ८ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । प्रतियोगीतामा उपविजेताले नगद ४ लाख पाउनेछन् भने, सेमीफाइनल पराजित दुई टीमलाई नगद १\१ लाख दिइने छ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०/२० हजार रुपैयाँ पाउनेछन् भने सेमिफाइनल पछिका खेलहरुमा उत्कृष्ट खेलाडी छनोट गरी पुरस्कृत पनि गरिने बताइएको छ ।
जिल्लामा फुटवल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्च स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरी राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन, खेल पर्यटनको बृद्धि गर्ने लगायतका उद्देश्यले प्रतियोगीता सञ्चालन गरीएको क्लबले जनाएको छ।