८१ वर्षको उमेरमा पनि धर्म, संस्कृति जोगाउने अभियानमा रुद्रनिधी तिवारी

-


     भरतबाबु घिमिरे    
     कार्तिक ३० गते २०८० मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ मा बसोबास गर्ने रुद्रनिधी तिवारी अहिले ८१ वर्षको हुनुभयो । २००० साल साउन २३ गते बुवा विश्वनिधी तिवारी र आमा शिवकुमारी तिवारीका ५ सन्तान मध्ये जेठो सन्तानको रुपमा जन्मनुभयो ।

बाल्यकाल देखि नै साहित्य तथा लोक गायन र व्यङ्व्यमा रुची राख्ने तिवारीले ३७ वर्ष शिक्षण पेसामा सेवा गर्नुभयो । परिवारको जेठो सन्तान भएकाले उहाँ ९ वर्षको हुदाँ हजुरबुवाआमाले रहरमा ९ वर्ष कै इश्वरी तिवारीसगँ बिवाह गरिदिनुभयो । ७२ वर्ष सम्म पनि उहाँहरुको जोडीमा रहर लाग्दो मायाप्रेम छ । ‘‘भर्खर ९ वर्ष लाग्दै गर्दा बिवाह भनेको के भन्ने बारे हामी दुवैलाई केहि थाहा थिएन, बिवाह पछि हामी दुवै जना बाख्रा चराउन जान्थ्यौ, सँगै खेल्थ्यौ’’ तिवारीले भन्नुभयो । अलि समय पछि केहि बुझे जस्तो भयो र लाज पो लाग्न थाल्यो, खुशी मुद्रामा हास्दै तिवारीले भन्नुभयो ।

धर्मपत्नी इश्वरी तिवारी

अहिले उहाँका छोराछोरी तथा नातिनातिनाले घर भरिभराउ छ । तर उहाँको जोस जागँरमा कत्ति पनि कमी आएको छैन ।
जहाँ गएर पनि स्थापित हुन सक्ने खुबी भएका तिवारी ९ कक्षामा पुगेपछि झापा आफन्तकोमा जानुभयो । उहाँको नेपाली भाषा स्पष्ट, राम्रो भएकोले र उहाँमा अन्य कला र खुबी देखेर त्यहाँ तिवारीलाई विद्यालयमा पढाउन पो लगाइयो ।

केही समय पछि गाउँमा विद्यालय खुल्यो र तिवारी फेरी गाउँमै आएर ९ कक्षामा भर्ना हुनुभयो २०२२ सालमा । हरेक कुरामा खुबी भएका र चलाख र चासो राख्ने तिवारीलाई तेती बेला नै विद्यार्थी यूनियनको अध्यक्ष बनाइयो । विद्यालयबाट हुने गित नाच तथा सांस्कृतिक कार्यक्रममा उहाँले कहिल्यै दोस्रो हुनु परेन । विभिन्न ठाउँमा सम्मान, कदरका प्रमाणपत्र उहाँसगँ अझै पनि ५८ वटा रहेका छन् ।

२०२४ सालमा एसएलसी दिनुभयो र त्यही आफू पढेको विद्यालयमा उहाँलाई पढाउनको लागि अनुरोध गरियो र आफ्नै गाउँमा रहेको जनकल्याण मा.वि बाट उहाँले शिक्षण पेसाको सुरुवात गर्नुभयो । त्यसपछि उँहाले पढाईलाई पनि निरन्तरता दिँदै शिक्षण पेसामा आवद्ध रहँदै आउनुभयो ।

सानै देखि स्वर राम्रो भएकाले गीत गाउने लेख्ने कुरामा उहाँ अघि बढिरहनुभयो । शिक्षण पेसाबाट अवकास लिइसकेपछि पनि उहाँ हरेक सामाजिक काममा नेतृत्व गर्दै सक्रिय रुपमा कार्य गरिरहनुभयो । २०६४ सालमा लमजुङको सदरमुकाम बेसीशहरमा पहिलो पटक रेडियो मस्र्याङदीको स्थापना भयो । स्थापनाकाल देखि नै उँहाले हाम्रो शैली, हाम्रो संस्कृती नामक रेडियो कार्यक्रम चलाउँदै आउनुभएको छ ।

१७ वर्ष अघिदेखि सुरु गरेको कार्यक्रम निकै जोस, र जाँगरका साथ ८१ वर्षको उमेरमा पनि कहिले व्यङ्ग्यात्मक तथा सन्देशमुलक रुपमा कहिले गित, संगित, त कहिले समसामयिक राजनीतिक र भाषा, धर्म, संस्कृतिका विषयमा उहाँको आवाज रेडियोमा सुन्न सकिन्छ ।

साहित्यमा निकै रुची राख्ने तिवारीले ४ वटा पुस्तक समेत प्रकाशन गरिसक्नुभएको छ । ‘‘गोपाल स्मृती शोक काव्य, स्वास्थ्य र प्राथमिक उपचार गिती लयमा, स्थानीय भजन संग्रह र लमजुङ, गोर्खा, कास्की र तनहुँमा रहेक महिनामा गाइने गितहरुको संगालो’’ पढ्न पाइन्छ भने अझै ४ वटा पुस्तक प्रकाशनको लागि तयारी अबस्थामा रहेको तिवारीले बताउनुभयो । भजन किर्तन, समाज संस्कृति, धर्म, भाषा, लोप हुन लागेकोमा उहाँलाई निकै चिन्ता छ ।

संस्कृतिविद् सत्यमोहन जोसीसगँ तिवारी

आफ्नो तर्फबाट तिवारीले हरसम्भव सम्म यसको जगेर्ना गर्न लागि पर्नुभएको छ । पछिल्लो समयमा विदेशी संस्कृति, भाषा र धर्मले मानिसहरु आफ्नो धर्म छाडेकोमा चिन्ता व्यक्त गर्दै संरक्षणमा सबै लाग्नुपर्ने उहाँ बताउनुहुन्छ ।

उहाँ ज्येष्ठ नागरिक संघ, चिती साहित्य समाज चितीको संस्थापक हुनुहुन्छ । आफू संस्थापक भएको यी संस्थाहरु अहिले पनि उहाँकै नेतृत्वमा संचालनमा छन् । २०७२ सालमा स्थापना भएको ज्येष्ठ नागरिक संघ चितीको उहाँ संस्थापक भएर मात्रै चुप लागेर बस्नुभएन, उहाँले सामाजिक विकास मन्त्रालय र बेसीशहर नगरपालिका धाएर २४ लाख ल्याउन सफल हुनुभयो र १ सय ५० जनासम्म बस्न अटाउने ज्येष्ठ नागरिक भवन निर्माण गर्नुभयो ।

ज्येष्ठ नागरिक संघमा भजन गाउँदै तिवारी

त्यो भवन अहिले गाउँका ज्येष्ठ नागरिकहरु जमघट हुने र भजन किर्तन गर्ने थलो बनेको छ । हरेक महिनाको १ गते र १५ गते गाउँभरीका ज्येष्ठ नागरिक जम्मा भई रामायण, गिता पढ्ने र भजनकिर्तन गर्ने गरेका छन् । भवन निमार्णको लागि गाउँकै स्थानीय हर्कमान श्रेष्ठले ४ आना ३ पैसा ३ दाम निशुल्क दान दिनुभएको थियो ।

शिक्षण पेसामा रहँदा विद्यार्थीहरु विच निकै लोकप्रिय रहेका तिवारीले आफूले पढाएका विभिन्न देश तथा विदेशमा पुगेका विद्यार्थीहरुसगँ हारगुहार गरी १५ लाख जम्मा गरेर गाउँमा चल्ने एम्बुलेन्स समेत खरिद गर्नुभयो । अहिले गाउँघरमा कोही विरामी भए भने त्यही एम्बुलेन्समा अस्पतालसम्म पुराउने गरिएको छ ।

बृद्धाहरुलाई सरकारले भक्ता दिने कार्य निकै राम्रो भएपनि बैंकमा जम्मा गर्ने कार्य भने तिवारीलाइ चित्त बुझेको छैन । उहाँ भन्नुहुन्छ ‘‘सबै काम कुरा वडाले गरिदिन्छ भने पैसा पनि ज्येष्ठ नागरिकको हातमा नै लगेर दिनुर्पछ त्यसपछि कसलाई दिने वा के गर्ने उनीहरुले गर्छन्, आफू जान सक्दैनन्, छोराछोरी वा नातिनातिनालाई ल्याईदेउ भन्नुपर्यो त्यसो हुँदा ज्येष्ठ नागरिकले पैसा पाउँदैनन् ’’ उहाँले गुनासो गर्नुभयो । बैङ्किङ सिस्टमले पैसा ज्येष्ठ नागरिकको हातमा नपर्ने तिवारीको भनाई छ ।

आफू उमेरको उत्तरार्धमा पुगेको तर एउटै कुराको चिन्ता लागिरहेको उहाँले बताउनुभयो । ‘१२ कक्षा पढेपछि बालबालिका विदेश जाने गरेका छन्, यहाँका विद्यालय तथा कलेज खाली हुँदै गएको छ, गाउँ बृद्धाश्रम जस्तो बन्दै गएको छ, बसेका केहि युवा पनि सहरतिर झरेपछि गाउँमा झलुङो देख्न मुस्किल भएको छ’ तिवारीले भन्नुभयो । ‘गैरी खेत बाँझो छ, गाउँका घर आगन तथा पाखोबारी बनमासा र झाडीले छोपेको छ, भाषा, धर्म मासिदै गएको छ, मलाई असाध्यै चिन्ता लाग्छ’ यहि कार्य बढ्दै गएमा देशको हालत के हुन्छ ? तिवारीले प्रश्न गर्नुभयो ।

सुन्दर देशमा पर्याप्त सम्भावना रहको र यसका लागि नेता सुध्रिनुपर्ने उहाँले बताउनुभयो । देशको नेता र नेतृत्व गर्ने तरिका नसुध्रिएसम्म देश बन्न नसक्ने तिवारीको धारणा छ ।