कृषकले फलाएको आलुको बजार सुनिश्चित

-


     नयाँ दीप    
     कार्तिक २१ गते २०८० मा प्रकाशित


लमजु्ङका कृषकहरुले उत्पादन गरेको आलु अब बेच्नलाई समस्या नहुने भएको छ । जिल्ला भित्र उत्पादन भएको आलु सिधै उत्पादन कम्पनीमा बेच्नको लागि सम्झौता गरिएपछि कृषकहरुलाई बजार समस्या नहुने भएको हो ।

सोमबार कृषि ज्ञान केन्द्र लमजुङको कार्यालयले बेसीशहरमा जिल्ला स्तरमा व्यवसायिक आलु खेती प्रविधि तालिम प्रदान गरी लमजुङका आलु उत्पादन गर्ने किसान र आलु चिप्स उत्पादन गर्ने कम्पनी फस्ट च्वाईस फुड प्रा.लि भैरहवा रुपन्देही बिच किनबेचको सम्झौता गरेको हो ।

हिउँद याममा आलु धेरै मात्रामा उत्पादन हुने हुदाँ किसानहरुलाई बजारको समस्या हुने र बजारमा बिक्रि भैहालेमा पनि कम मुल्य पाउने समस्या एकातिर थियो भने आलुलाई शीत भण्डार गरेर राख्नको लागि सबै किसानको क्षमतामा नपुग्ने हुदाँ सिधै कम्पनीमा बेच्नको लागि पहल गरेको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले बताउनुभयो ।

सम्झौतामा हिउँदे आलु उत्पादन भएपश्चात कम्पनी आफैले गाडि ल्याएर लैजाने र प्रति किलो न्यूनतम २० रुपैया दिने सम्झौता भएको छ । सो समयमा बजार मुल्य बढी भएमा केहि रकम थप गर्ने पनि उल्लेख गरिएको प्रमुख खतिवडाले बताउनुभयो ।
लमजुङको राइनास न.पा को ३, ४ र ६ नं वडा, मध्य नेपालको १० र ४ नं वडा र सुन्दरबजारको १० वडाका ८ वटा कृषक समूहसगँ सम्झौता भएको छ ।

गण्डकी प्रदेश सरकार अन्तरगतको समुदाय स्तरमा प्रविधीयुक्त कृषि उत्पादन प्रवर्धन कार्यक्रम अन्तरगत यो बर्ष लमजुङ जिल्लाको ५० हेक्टर अर्थात १ हजार रोपनी क्षेत्रफलमा आलु खेती गरिने छ । सोको लागि १ करोड ४० लाख रुपैया बजेट विनियोजन भएको कृषि ज्ञान केन्द्रका प्रमुख खतिवडाको भनाई छ ।

ज्ञान केन्द्रले विउ खरिद र यन्त्र उपकरणको लागि ७५⁄७५ प्रतिशत, सिंचाई पूर्वाधार र बजारिकरणको लागि ८५⁄८५ प्रतिशत र ढुवानीको लागि ५० प्रतिशत गरी जम्मा ५० देखि ८५ प्रतिशतसम्म सहयोग गर्ने छ भने प्राविधिक सेवा, विषादी, तालिम, अनुगमन, बाली विमा लगायत भने निशुल्क रुपमा ज्ञान केन्द्रले प्रदान गर्ने प्रमुख खतिवडाले बताउनुभयो ।

समुदायस्तरमा प्रशोधन योग्य आलु प्रवर्धन कार्यक्रम अन्तरगत यो वर्ष जिल्लामा बार्षिक ८ सय मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको छ । उत्पदानका आधारमा समेत किसानहरुले १ रोपनीमा बराबरमा १० हजारका दरले अनुदान पाउने व्यवस्था भएको ज्ञान केन्द्रले जनाएको छ ।

आलु उत्पादन गरी सिधै बिक्री हुने भएपछि किसानहरु पनि निकै खुशी भएका छन् ।

विगतका वर्षहरुमा २०⁄३० रोपनीमा लगाएको आलु पनि विक्री गर्न र भण्डार गरेर राख्न निकै समस्या भएको थियो अहिले बिक्रीको लागि सम्झौता भएपछि सबै २ रोपनीमा रोप्नेले पनि ५ रोपनीमा आलु रोप्ने तयारी गरेको राइनास नरपालिका ३ मा रहेको लाम्पाटा कृषि तथा पशुपालन समूहका अध्यक्ष भोजराज अधिकारीले बताउनुभयो ।

गतवर्ष ५० रोपनीमा आलु रोपेकोमा बजारको सुनिश्चित भएपछि आफ्नो समूहले पनि यो वर्ष ९० रोपनी क्षेत्रफलमा रोप्ने योजना बनाएको अधिकारीको भनाई छ ।

अब ढुक्क भएर आलु उत्पादन गर्न सकिने र आफूहरु निकै उत्साहित भएको किसानहरुको भनाई छ ।