आज महा नवमी : दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

-


     नयाँ दीप    
     कार्तिक ६ गते २०८० मा प्रकाशित


नवरात्रीको नवौँ दिन अर्थात् महानवमी । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व सोमबार हर्षोल्लासका साथ महालक्ष्मी देवीको पूजाआजा गरी मनाइन्छ ।

महानवमीका दिनमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्ति पीठमा लगी चढाइन्छ ।

आजकै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्ति पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद देवी भागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। महा नवमीका अवसरमा कोहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ ।

पशु बलि नदिनेले भने आज आ–आफ्नो कुल परम्पराअनुसार कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।

हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । वर्षमा एक दिन मात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।