बेसीशहर नगरपालिकाद्वारा कैदी\बन्दीलाई दशैंका लागि ४० हजारका २ वटा खसी सहयोग

-


     नयाँ दीप    
     कार्तिक २ गते २०८० मा प्रकाशित


बेसीशहर नगरपालिकाले कारागारका कैदी\बन्दीलाई दशैंका लागि २ वटा खसी सहयोग गरेको छ । नगरपालिकाले ४० हजार रुपैया बराबरको २ वटा खसी सहयोग गरेको हो ।

नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विहिबार लमजुङ कारगारमा पुगेर जेलर कमलापती अधिकारी, कैंदी–बन्दीका नाईकेलाई उक्त खसी सहयोग गर्नुभएको हो । नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जिवन विताई रहेकाहरु परिवारबाट टाढा रहने भएकोले उनीहरुलाई थोरै भएपनि चाडपर्वमा खुसी दिनका लागि नगरपालिकाले सहयोग गरेको बताउनुभयो ।

नगर प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाले चालु तर्फको अन्य सामाजिक सहायता शिर्षकबाट कैदी\बन्दीलाई ४० हजार रुपैयाको २ वटा खसी सहयोग गरेको बताउनुभयो ।

कारागारका जेलर कमलापती अधिकारीले दशैंमा कैदी÷बन्दीका लागि सरकारले थोरै मात्र सहयोग गर्ने भएकोले बेसीशहर नगरपालिकाको सहयोगले चाडपर्वमा कैदी–बन्दीलाई खुसी थप्ने बताउनुभयो ।

खसी सहयोग कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसी, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, नगरप्रमुखका स्वकीय सचिव कुमार अर्याल लगायत कर्मचारी र संचारकर्मीको उपस्थिती रहेको थियो ।

बेसीशहर नगरपालिकाले गत बर्ष ३० हजार सहयोग गरेको थियो भने प्रत्येक बर्ष दशैंमा सहयोग गर्दै आईरहेको छ । लमजुङ कारागारमा ७ जना महिलासहित ८८ जना कैंदी\बन्दी रहेको छन् ।