इजरायलमा १० नेपालीको मृत्युमा मंगलबार राष्ट्रिय शोक घोषणा

- आक्रमणमा परी अहिलेसम्म ८ सयभन्दा बढी इजरायलीहरूको मृत्यु

-


     नयाँ दीप    
     असाेज २२ गते २०८० मा प्रकाशित


काठमाडौँ — सरकारले हमासको आक्रमणमा परी नेपालीहरूले ज्यान गुमाएको दुःखद घटनापछि मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रिय शोक घोषणा गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार उनीहरूको सम्मानमा मंगलबार आधा झण्डा झुकाइने छ । ’यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

गाजा क्षेत्रबाट हमासले शनिबार इजरायली क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ । आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार इजरायलबाट नेपाल फर्कन चाहने सबैलाई सरकारले खर्च बेहोर्ने छ । इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने छ । अनलाइन फारम भरेका आधारमा संख्या पुगेपछि उनीहरूलाई लिन जहाज पठाइने मन्त्रिपरिषद्को निर्णयमा छ ।

प्यालेस्टाइन समर्थित विद्रोही समूह हमासले शनिबार इजरायलतर्फ मिसाइल आक्रमण गरेको थियो । त्यसयता प्यालेस्टाइन र इजरायलबीच फेरि युद्ध चर्किएको हो । यसबीच लेबनानस्थित विद्रोही समूह हिजबुल्लाह पनि यस युद्धमा जोडिएको छ ।

इजरायल नियन्त्रित सिब्बामा आइतबार हिजबुल्लाहले मोर्टार आक्रमण गरेको थियो । आक्रमणमा परी अहिलेसम्म ८ सयभन्दा बढी इजरायलीहरूको मृत्यु भइसकेको छ ।