
लमजुङ जिल्लाका प्राय सबै ठाउँमा विद्युत विस्तार भएपछि पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ । नेपाल विद्युत प्राधिकरण, लमजुङ वितरण केन्द्रले पूर्ण विद्युतीकरणको घोषणाको तयारी गरेको हो ।
विद्युत वितरण केन्द्र लमजुङका प्रमुख मेघनाथ भट्टराइका अनुसार अब जम्मा ८५ घरधुरीमा मात्रै विजुली बल्न बाँकी छ । जिल्लाको क्होलासोथर गाउँपालिका, दुधपोखरी गाउँपालिका लगायतका केहि ठाउँमा विजुली बल्न बाँकी रहेको प्रमुख भट्टराइले बताउनुभयो ।
जिल्लाका केहि दुर्गम ठाउहरुमा विद्युतीकरणमा ढिलाइ भएको र हाल उक्त ठाउँहरुमा पोल गाड्ने, तार टाङ्ने जस्ता कार्यहरु भै रहेको र केहि महिना भित्रै यी बाँकी रहेका घरहरुमा पनि विजुली बालिने बताइएको छ । विद्युत पुग्न बाँकी रहेका घरहरुमा विजुली पुगेपछि लमजुङ जिल्ला पूर्ण विद्युतीकरण घोषणा हुने प्रमुख भट्टराइको भनाई छ ।
जिल्लाका ३८ हजार घरधुरीले नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्दबाट वितरित विद्युत उपयोग गरिरहेका छन् भने २ हजार ५ सय ५९ घरधुरीले लघुजलविद्युतबाट उत्पादित विद्युत र ६२ घरधुरीले सोलार उपयोग गरिरहेको तत्थ्याङ्कमा आएको बताइएको छ ।
लमजुङमा मात्रै साना ठुला आयोजनाबाट दुईसय ४० मेगावाट भन्दा बढि विद्युत उत्पादन भईरहेको छ । उत्पादित विद्युतलाई उदिपुर स्थित सवस्टेशनबाट राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । सो बाहेक जिल्लाका लागि भने ११ केभिको प्रशारण लाईन मार्फत वितरण भईरहेको छ ।
नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जिर्ण अवस्थामा रहेका नौसय बढी पोल विस्थापित गरी फलामको पोल समेत राखेको छ । गत वर्षको भदौबाट विद्युत उपभोक्ता समितिबाट विद्युत वितरण जिम्मा लिएको प्राधिकरणले काठको विद्युत पोल जिर्ण हुँदा जोखिमसँगै विद्युत वितरणमा समेत समस्या भएपछि सवै जिर्ण पोललाई हटाएर फलामको विद्युत पोल राख्न शुरु गरेको वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईको भनाई छ ।
प्राधिकरणले जिम्मा लिएको एक वर्षको अवधिमा लमजुङ जिल्लामा उठ्न बाँकी रहेका १ करोड ३३ लाख, ५९ हजार ४ सय, ४९ रुपैया मध्येबाट ९७ लाख, ५८ हजार, १ सय २४ रुपँैया विद्युत बक्यौता रकम समेत उठाएको छ ।
आ.व. ०७९/८० को मात्र तथ्याङ्क हेर्दा केन्द्रले महसुल नतिर्ने ७ सय ९३ जनाको विद्युत लाइन काटेपछि उक्त रकम उठेको हो । विद्युत लाइन काटेर पनि महसुल नदिर्ने ७३ जना उपभोक्तालाई कालोसूचीमा राखिएको प्रमुख भट्टराइले बताउनुभयो ।
विद्युतका लागि हव मानिने जिल्लामा पर्याप्त विद्युत भएपनि अत्याधिक ट्रिपिङको समस्या भएपछि कार्यालयले विद्युत सहज बनाउन नयाँ ट्रान्सफर्मरको समेत व्यवस्था गरेको वितरण केन्द्रले जनाएको छ ।
कमजोर संरचनाका कारण बर्षाको सिजनमा विद्युत जाने आउने हुँदा प्रत्येक वर्ष उपभोक्ताहरु समस्यामा पर्दै आएका छन् । जिल्लामा विद्युत उत्पादन बढि र सो अनुसारको संरचना नहुँदा विद्युत ट्रिपिङको समस्या भोग्नुपरेको कार्यालयको दाबी छ ।
गत वर्षहरुमा जिल्लामा भएको विद्युतीय समस्यामा तत्कालिन उपभोक्ता समितिको लापरवाहि भएको भन्दै चर्को विरोध भएको थियो । विद्युत उपभोक्ता सँस्थाले सेवा प्रवाह गर्न नसकेको भन्दै खारेजीको लागि दवाव बढेपछि गत वर्षदेखि विद्युत वितरणको जिम्मा प्राधिकरणले लिएको हो ।
हाल प्राधिकरणले सेवा प्रवाहको जिम्मा लिएपछि संरचना सुधारलाई पहिलो प्राथमिकतामा राखेको र सोहि अनुसार काम भईरहेकोले आगामी वर्षबाट यस्तो समस्या नहुने कार्यालयले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिक उत्सवको अवसरमा लमजुङ विद्युत वितरण केन्द्रलाई गण्डकी प्रदेशको उत्कृष्ट घोषणा गरी सम्मान समेत गरेको थियो । आर्थिक वर्ष २०७९⁄०८० को कार्य सम्पादनको आधारमा विद्युत वितरण प्रणालीलाई व्यवस्थित गरेको, पूर्ण विद्युतीकरणको लक्ष्य नजिक पुगेको, आय संकलन समेत लक्ष्य नजिक पुगेको भन्दै सम्मान गरेको कार्यालयले जनाएको छ ।