बेसीशहरका हराएको सुन चोरीको आरोपमा युवती पक्राउ

-


     नयाँ दीप    
     भाद्र १८ गते २०८० मा प्रकाशित


लमजुङको बेसीशहरमा विभिन्न समयमा हराएको सुन चोरी गरेको आरोपमा प्रहरीले आइतबार एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेसीशहर नगरपालिका वडा नं ८ शेरा घर भएकी २७ बर्षिय सुजा घिमिरे रहेकी छन् ।

घिमिरेले गत बैशाख २५ गते बेसीशहर नपा–०७ क्याम्पस रोड स्थित खिनामाया रिमालको घरबाट उनकी छोरी जमुना रिमालको करिव १२ तोला र साउन ३० गते सोही वडाको न्यू ईरा बोर्डिङ स्कुल नजिकै बालकुमारी अधिकारी घिमिरेको घरबाट करिव १२ तोला गरी करिब २४ तोला बराबरको सुन चोरेको स्वीकारेको प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो ।

प्रहरीका अनुसार आरोपित युवती घिमिरेको घरमा आइतबार बेलुका नै खोजतलास गर्दा सुनको रानीहार १ थान, सुनको वाला २ थान, सुनको रातो पत्थर जडित औँठी २ थान, सुनको औँठी २ थान, सुनको सिक्री १ थान, सुनको मिनिहार १ थान, सुनको टप ४ थान, सुनको पत्थर जडित टप २ थान, सुनको गणेशको मुर्ती भएको लकेट १ थान, सुनको झुम्का २ थान बरामत गरिएको छ भने केही सुन बैंकको लकरमा राखिएको जानकारी पाएको प्रहरी प्रमुख श्रीममले बताउनुभयो ।

आरोपित युवती घिमिरेलाई सोमबार लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक बुद्धी सुवेदीले जनकारी दिनुभएको छ ।

घिमिरे बेसीशहर स्थित ग्रामिण सामुदायिक विकास केन्द्र (RCDC) लमजुङमा कार्यरत कर्मचारी समेत हुन् ।
लमजुङका विभिन्न ठाउँमा श्रृंखलाबद्ध रुपमा कहिले हप्ता दिन त कहिले महिना दिनको फरकमा सुन चोरीको घट्ना हुँदै आएको छ । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।