आज जनैपूर्णिमा पर्व मनाइँदै

-


     नयाँ दीप    
     भाद्र १४ गते २०८० मा प्रकाशित


प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

पौराणिक कथन

सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राहृमण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

यसै दिन ब्राहृमण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ ।

यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।

वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रहृमसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

क्वाँटी खाने दिन

हरेक पर्वहरुको आफनो पहिचान आफनो बिशेसता हुन्छ । ति पर्वशहरु मध्ये जनै पूर्णिमा पनि महत्वपुर्ण चाड हो ।

पर्व अनुसार हाम्रो भान्सामा भिन्न भिन्ने खानेकुरा पाक्ने गर्छ । असार पन्ध्रमा दही चिउरा, साउन पन्ध्रमा खीर भनेजस्तै जनै पूर्णिमाको दिन खाइने विशेष खान्की हो, क्वाटी ।

क्वाटीमा मास, मुँग, भटमास, चना, सीमी, बकुल्ला, बोडी, सानो केराउ, ठूलो केराउ जस्ता गेडागुडी मिसाइएको हुन्छ । क्वाटीलाई भिजाएर अंकुराउन थालेपछि यसको झोल बनाएर खाने परम्परा छ ।

त्यसैले क्वाटी खानु केहि दिनअघि नै यसलाई भिजाएर राख्ने गरिन्छ ।क्वाटीको खास अर्थ तातो झोल पदार्थ भन्ने हुन्छ । धार्मिक मान्यता अनुसार नौ थरीका गेडागुडीको मिश्रण गरी, त्यसको टुसा उमारेर प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमाको रातमा क्वाटी खाने गरिन्छ ।

क्वाटी जनै पूर्णिमाको विशेषता नै हो ।खासगरी वर्षायाममा खेती किसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले पनि क्वाटीको प्रचलन सुरु भएको मानिन्छ ।

क्वाटीबाट पूर्ण प्रोटिन पाइने पोषणविदहरुको भनार्ए छ । यसलाई शक्तिवर्दक खान्कीको रुपमा लिइन्छ । क्वाटी खाँदा पेट प्राकृतिक रुपले नै सफा , कब्जियतबाट जोगाउँने भने बालबालिकालाई त यो राम्रो डाइट नै हुन्छ ।क्वाटी रेसादार खानाको स्रोत हो।

क्वाँटी खाँदा हुने केही फाइदाहरु यस्ता रहेका छन्:

–कब्जियत हटाउँनुका साथै पाचनशक्तिमा सुधार गर्ने

–उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग

–कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग

–शारीरिक र मानसिक स्वास्थ्यमा सुधार

–रोग प्रतिरोधात्मक शक्ति बढाउँने

–स्मरणशक्ति वृद्धि

–मानसिक स्वास्थ्यमा सुधार

–रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा

–बच्चाहरूको वृद्धि विकासमा सहयोग

–पौष्टिक तत्व प्रयाप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार

नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । यस पर्वका अवसरमा विभिन्न शैक्षिक संस्था एवं स्थानीय सरकारले सार्वजनिक बिदासमेत दिएका छन् ।