
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा गठन भएको मर्स्याङ्दी ग्रुपको पहिलो भेलाले जलविद्युत कम्पनी संचालक समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार भएको “मर्स्याङ्दी ग्रुप“ को शेयर सदस्यहरुको पहिलो भेलाले मर्स्याङ्दी जलविद्युत कम्पनी लिमिटेड बनाउनको लागि संचालक समिति निर्माण गरेको हो ।
कम्पनी संचालक समितिको अध्यक्षमा संविधानका सभाका सदस्य जमिन्द्रमान घले र सदस्यहरुमा चेतबहादुर गुरुङ, मनिप्रसाद गुरुङ, पुर्णबहादुर गुरुङ र टीकाराम भन्डारीलाई चयन गरिएको छ । जलविद्युत कम्पनीको सल्लाहकारमा हेमजङ गुरुङ, बमबहादुर भन्डारी र चन्द्रलाल गुरुङ रहनुभएको छ ।
सो अवसरमा मन्तव्य दिँदै मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष तथा ग्रुपका संयोजक अर्जुन गुरुङले कम्पनी गठन गरी कम्पनीले छिट्टै मर्स्याङ्दी –२ स्थित किचेखोला साना जलविद्युत आयोजना शुरु गर्ने, गाउँपालिकामा पेट्रोल पम्प निर्माण, मर्स्याङ्दी गाउँपालिका जडिबुटीको खानी भएकाले जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने, पर्यटक प्रर्वधनको लागि पर्यटन रिसोर्ट, जिपलाइन, स्विईङ, तातोपानी कुण्ड ब्यवस्थापन तथा फलफुल, तरकारी, दुध, जटिबुटीको फार्मिङ गर्ने लक्ष्य लिएको बताउनुभएको छ ।
यस्तै पालिका भित्रको प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्न कंक्रिट सामाग्री तथा क्रसर उद्योग, प्लाईउडको कच्चापदार्थ उद्योग, गुन्द्रुक, अचार उद्योगहरु स्थापना गर्ने ग्रुपको लक्ष्य पालिका अध्यक्ष गुरुङले बताउनुभयो ।
मस्र्याङदी गाउँपालिका हरेक कुरामा प्रर्याप्त सम्भावना भएको पालिका भएकाले पालिकालाई सम्बृद्धि बनाउन यस्ता कार्यक्रमको सुरुवात गर्ने र त्यसलाई निरन्तरता दिने पालिका प्रमुख गुरुङको भनाई छ ।
छरिएर रहेको साना साना पुजँीलाई एक ठाउँमा जम्माा गरी केहि नयाँ कार्यलाई मर्स्याङ्दी ग्रुपले अघि बढाउने पालिकाका धेर्रै जनालाई रोजगारी समेत प्रदान गर्ने योजना रहेको हुँदा सेयर सदस्यहरुलाई विना संङ्चोक ढुक्क भएर लगानी गर्न अनुरोध गरिएको छ ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष तथा मर्स्याङ्दी ग्रुपको समन्वय समितिको संयोजक अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य जमिन्द्रमान घले, रा.प्र.पा. केन्द्रिय उपाध्यक्ष हेमजङ्ग गुरुङ लगायतको उपस्थिति रहेको स्थानीय सरोज गरुङले बताउनुभयो ।
मर्स्याङ्दी गाउँपालिकामा उद्योग ब्यवसाय स्थापना गरि रोजगारी सिर्जना गर्ने उदेश्यले स्थापना गरिएको मर्स्याङ्दी ग्रुपमा लगानी गर्ने ३ सय ६५ जना पुगेका छन् । साउन मसान्तसम्म ३ सय ६५ जनाले पहिलो किस्ता स्वरूप २५ हजार रूपैयाँ जम्मा गरेका छन् ।
पालिका भित्र रहेका विभिन्न सम्भावनाहरुलाई उद्योगमा परिणत रोजगारी र आयआर्जन बढाउन ‘मर्स्याङ्दी ग्रुप’ निर्माण गरिएको बताइएको छ ।

‘पालिका भित्र धेरै सम्भावनाहरु रहेका र यसको विकासका लागि पालिका, प्रदेश र संघको बजेट पर्याप्त नहुने भन्दै ‘राज्यले पनि नसक्ने र एउटै ब्यक्तिले पनि लगानी गर्न नसक्ने भएपछि समूह बनाएर अघि बढेको बताइएको छ । यो कार्यले यहाँको विकास, अर्थतन्त्रको चलायमान र रोजगारी स्थापना गर्ने संविधान सभाका सदस्य ग्रुपपका सदस्य जमिन्द्रमान घलेले बताउनुभएको छ ।
ग्रुपमा लगानी गर्नका लागि हाल न्युनतम ५० हजारदेखि अधिकतम ३० लाखसम्मको खाका तयार पारिएको छ । लगानीकर्ताले ग्रुपमा या फरक फरक उद्योग ब्यवसायमा पनि लगानी गर्न पाउनेछन् । प्रत्येक उद्योग तथा काम लागि फरक फरक सञ्चालक समूह गठन गरिने बताइएको छ ।
ग्रुपमा जोडिन चाहनेहरूले हिमालयन बैंक भुलभुले शाखामा रहेको युवा घले र नन्दराज तामाङको संयुक्त खाता नम्बर २५७५५२४८१४००३३ मा पहिलो किस्ता स्वरूप २५ हजार जम्मा गर्न सक्नेछन् ।