बेसीशहरको एक घरबाट १२ तोला सुन चोरी

-


     नयाँ दीप    
     श्रावण ३१ गते २०८० मा प्रकाशित


प्रमिशा विक, नयाँ दीप / लमजुङ सदरमुकाम बेसीशहर स्थित एक घरबाट करिब १२ तोला सुनका गरगहना चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयबाट करिब डेढ सय मिटर दूरीको घरबाट उक्त गरगहना चोरी भएको हो ।

बेसीशहर नगरपालिका ८, ठाडोलाइन नजिकै बालकुमारी घिमिरेको घरबाट सुनका गरगहना चोरी भएको बताइएको छ ।
प्रहरीका अनुसार रानीहार ३ तोला ५० लाल बराबरको १ थान, औंठी र टप रानीहारकै सेट १ तोलाको २ थान, मिनीहार १ तोला १५ लाल बराबरको १ थान, सिख्री १ तोला ५० लालको १ थान, चुरीवाला बाला २ तोला ५० लालको १ थान, काकरविया औंठी ५० लालको १ थान, टप २५ लाल बराबरको २ थान, माइली तिलहरी ४० लाल बराबरको र चनद्रमा अन्दाजी १० लाल बराबरको १ थान चोरी भएको उजुरी परेको छ । पीडितले १२ लाख रुपैयाँ बराबरको सुनका गरगहना चोरी भएको दाबी गरेका छन् ।
मगंलबार दिउँसो घरमा कोहि नभएको मौका छोपेर चोरी भएको पिडित परिवारको भनाई छ ।

बेसीशहरको जनविकास माविका शिक्षक समेत रहेकी घिमिरे शिक्षक महासंघले आयोजना गरेको धर्ना कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइमा गएको र उनका श्रीमान शम्भूप्रसाद घिमिरे (अधिकृत) बेसीशहर नगरपालिका कार्यालयमा रहेको अवस्थामा गरगहना चोरी भएको थियो । घरमा रहेको ल्यापटप र स–साना गरगहना र रकम भने चोरले छाडेको र ठूला गहनाहरु लिएर गएको पीडितले बताएका छन् । मगंलबार विहान घरको गेटमा चाबी खोल्दा छोडिएको चाबीको झुत्तो त्यहीबाट हराएको र दिउँसो गहना चोरी भएकाले नजिकै आसपासको र मेसो पाएको व्यक्तिले चोरेको हुन सक्ने घिमिरे परिवारको भनाई छ । चोरी गर्ने व्यक्तिको खोजीका लागि प्रहरीमा उजुरी दिएको बालकुमारीले बताइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले पिडित बालकुमारी घिमिरेले आफ्नो गरगहना हराएको भनी उजुरी दिएको बताए । यस घटनाको विषयमा बजार भित्रका सुन चादी पसलहरुमा समेत पत्रचार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलले घटनाबारे जानकारी आउनासाथ चोरी गर्नेको खोजी भइरहेको बताए ।