नक्कली नोट सहित लमजुङका एक युवक काठमाडौंमा पक्राउ

-


     प्रमिशा विक    
     श्रावण २४ गते २०८० मा प्रकाशित


नक्कली नोटसहित लमजुङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी काठमाडौंबाट खटिएका टोलीले लमजुङका सुवास गुरुङ सहित ३ जनालाई पक्राउ गरेको हो । मंगलबार साँझ काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ५ स्थित गोलढुंगाबाट सशस्त्र प्रहरीले नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको हो ।

लमजुङको दोर्दी गाउँपालिका वडा नं २ घर भएका सुवास गुरुङ, खोटाङ दिप्रुङ गाउँपालिका ५ का लक्ष्मी पाण्डे र रामेछापको गोकुलगंगा गाउँपालिका १ का मदन दमाईलाई पक्राउ गरेको हो ।गोलढुंगा नगिनी खोला स्थित स्थानीय हिम्मत बमको घरमा डेरामा बस्ने उनीहरुको साथबाट एक हजार दरका १ लाख ८२ हजार नक्कली नोट बरामद गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

यसैगरी उनीहरुको साथबाट मोबाइल चार थान, सिमकार्ड दस थान र बा ६५प ९०२७ नम्बरको मोटरसाइकल र नोट बनाउन प्रयोग गरिने २ सय थान कागज प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरी वृत्त बालाजुमा बुझाइएको डिएसपी थापाले जानकारी दिएका छन् ।