आँखा पाक्ने समस्या र बच्ने उपाय

-


     नयाँ दीप    
     श्रावण २० गते २०८० मा प्रकाशित


आँखा हाम्रो शरिरको महत्वपूर्ण र संवेदनशील अङ्ग हो । यतिबेला देशका विभिन्न जिल्लामा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको बताइएको छ ।

तिलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा. सिर्जना अधिकारीले भाइरल इन्फेक्सन र ब्याक्टेरियाका कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताएकी छन् । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेको उनको भनाइ छ ।

आँखा पाक्ने ब्याक्टेरियाको कारणले पनि हुन्छ । यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री भागमा पोलेको महशुस हुन्छ । मुख्यतया भाइरस र व्याक्टेरियाको समस्याले आखाँमा भएका निकै मसिना रक्तनली सुनिन्छ, फुल्छ र आँखा एकदमै रातो र पाकेको देखिन्छ । आँखा पाकेको मानिसलाई हेर्दैमा आफुलाई सर्दैन । यदि ब्याक्टेरिया वा भाइरसको कारणले कसैलाई आँखा पाक्ने भएको समस्या रहेछ र उसको हातले आँखामा छोएको रहेछ भने सोही हात राम्रोसँग नधोई अन्य तिर छोईदिँदा ब्याक्टेरिया वा भाइरस सबैतिर फैलिन्छ । त्यसपछि त्यस चिजमा छोएर आँखामा लाने सबैको आँखा पाक्ने समस्या हुन सक्छ ।

रोकथाम र उपचार
–सबैभन्दा धेरै आँखा पाक्ने समस्या भाइरसको कारणले हुने गर्छ । र एक दुई वटा विशेष कम परिस्थितीमा बाहेक अधिकांश केशमा भाइरसको कारणले हुनेलाई कुनै औषधी प्रयोग गर्नु पर्दैन ।
–एलर्जीको कारण हो भने चिकित्सकको सल्लाहमा लगाउने र खाने औषधी प्रयोग गर्नुपर्छ ।
–ब्याक्टेरियाको कारणले हो भने एन्टावाएटिक औषधी लगाउने गर्नुपर्छ ।
–आँखा पाकेको व्यक्तिले आफ्नो सामान अरुसँग सेयर गर्नु हुँदैन ।
–बारम्बार साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । हात र औला आँखामा लैजानु हुँदैन ।
–दिनहुँ नुहाउने, विरामीले दिनहुँ कपडा फेर्ने, सिरानी दिनहुँ फेर्ने गर्नुपर्छ ।
– आँखा चिसोले तथा बरफले सेक्ने,– सफा पानीले आँखा सफा गर्ने
– स्कुल, कलेज र अन्य भिडभाड भएको ठाउँमा नजाने, जानुपरे बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने