
लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ७ छिनखोलाका किसानलाई यतिबेला आलु खन्ने चटारो छ । गत फागुनमा राेपेकाे आलु उत्पादन हुन थालेपछि छिनखाेलका किसानकाे ब्यस्तता बढेकाे हाे ।
कृषि ज्ञान केन्द्र लमजुङले छिनखोलाका किसानलाई ५० प्रतिशत अनुदानमा जनकदेव आलुको बीउ उपलब्ध गराएको थियो । छिनखोलाका गाउँलेहरुले ५० रोपनी भन्दा बढी क्षेत्रफलमा आलु रोपेका थिए । कृषि ज्ञानकेन्द्रले बर्खामा उत्पादन दिने जनकदेब जातका ४ हजार ५ सय आलुकाे बीउ वितरण गरेकाे थियाे ।
छिनखाेलका ५२ घरधुरीका सबैले आलु खेती गरेका छन् भने सामुहिक रुपमा पनि आलु खेती गरिएकाे छ । छिनखोला गाउँमा धेरै थोरै सबै किसानले आलु उत्पादन गर्छन् । याे बर्ष २८ देखि ३० टन सम्म आलु उत्पादन हुने आशा किसानले गरेका छन् । उत्पादित आलुबाट १२ लाख भन्दा प्राप्त हुने अनुमान गरिएको छ ।
अहिले उत्पादन भएको आलु भण्डारण समेत गरेर राखिन्छ । अहिले भण्डारण गरेर राखेको आलु असोज कार्तिकतिर निकालेर विक्री गरिन्छ । यसरी भण्डारण गरेर विक्री गर्दा किसानलाई राम्रो मुनाफा समेत हुने उनिहरु बताउँछन् ।
१६ सय देखि २ हजारसम्मकाे उचाइमा रहेकाे छिनखोलाका किसानले उत्पादन गरेको आलुको बजार निकै राम्रो छ । नजिकैको ङादीबजार, भुलभुले, खुदी र बेसीशहरमा छिनखोलको आलुको ठूलाे माग छ। राम्रो गुणस्तर र स्वादिलो भएकाले उपभोक्ताहरु त्यहाँको आलु खोजी खोजी खरिद गर्छन् ।
अलैंचीको राम्रो उत्पादन हुने छिनखोला गाउँमा आलुसंगै कोदो, मकैको पनि राम्रो उत्पादन हुने गर्छ । अधिकांश गाउँलेहरु कृषि पेशामै निर्भर छन् । अलैंची उत्पादनमा नाम कमाएको छिनखोला गाउँ आलु उत्पादनमा पनि उत्तिकै अगाडि छ ।
हिजोआज छिनखोला गाउँका किसानहरु आलु खन्ने र आलु खनेको बारीमा कोदो रोप्न ब्यस्त रहेको छन् ।