भोटेकोशी बाढी अपडेट : १ हजार ४१० जनाको शव फेला

-


     नयाँ दीप    
     असाेज २ गते २०८३ मा प्रकाशित


काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि शुक्रबार राति ८ बजेसम्म १ हजार ४१० जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १९९, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जना रहेका छन्। काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार २९२ वटा शव व्यवस्थापन गरिएको छ।

शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९१ गरी कुल ३ हजार २७७ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन बाँकी १ हजार ३६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।

प्रहरीका अनुसार अझै ४ हजार ९० जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य विभिन्न प्रभावित क्षेत्रमा जारी रहेको छ।

यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा हाल १ हजार ७९१ जना व्यक्तिलाई राखिएको जनाइएको छ।