
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ४३६ पुगेको छ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीका विभिन्न स्थानबाट अहिलेसम्म उक्त संख्यामा शव फेला परेका हुन्।
फेला परेका शवमध्ये १ हजार २९२ जनाको डीएनए नमुना संकलन गरी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका शवको विवरण भने प्रहरीले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ।
यसैबीच, रसुवास्थित त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका २४ जनाको शव नुवाकोट ल्याइएको छ। ती शव शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत विदुर नगरपालिका–६ स्थित खम्बा क्याम्पमा ल्याइएको हो।
तर, ती शवको अहिलेसम्म पहिचान खुल्न सकेको छैन। बाढीपछि आफन्त सम्पर्कविहीन रहेका परिवारका सदस्यले तीमध्ये आफ्ना आफन्तको शव हुन सक्ने भएकाले पहिचान प्रक्रियाका लागि खम्बा क्याम्पमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ९डीएसपी० इकवाल हवारीले सम्पर्कविहीन आफन्तको शव हुन सक्ने भएकाले परिवारजनलाई खम्बा क्याम्पमा पुगेर पहिचान प्रक्रियामा सहयोग गर्न आग्रह गर्नुभएको छ।









