विपदमा ज्यान गुमाएकाको सम्झनामा वृक्षरोपण, जन्मदिनलाई बनाइयो प्रकृति संरक्षणको अवसर

-


     नयाँ दीप    
     भाद्र १७ गते २०८३ मा प्रकाशित


बेँसीसहर रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लमजुङको बेँसीसहर–७ चण्डीडाँडा चौतारा परिसरमा बुधबार वृक्षरोपण गरिएको छ।

ज्यान गुमाएकाहरूको आत्मशान्ति तथा वैकुण्ठवासको कामना गर्दै ‘जन्मदिनमा वृक्षरोपण अभियान नेपाल’ र रोटरी क्लब अफ लमजुङको सहभागितामा वृक्षरोपण कार्यक्रम गरिएको हो। रोटरी क्लब अफ लमजुङका सचिव रेशम घिमिरे र रोटरी सदस्य प्रमोदकुमार श्रेष्ठको भदौ १७ गते नै जन्मदिन परेको हुनाले उहाँहरुले पनि सोही ठाउँमा बृक्षरोपण गर्नुभएको थियो ।

कार्यक्रममा शान्तिको प्रतीक बौद्ध गुम्बा तथा शीतलताको प्रतीक वर–पीपल चौतारी परिसरमा पवित्र बेल तथा बहुवर्षीय फूलका बिरुवा रोपिएको थियो।

जन्मदिनमा एउटा वृक्षरोपण

‘जन्मदिनमा वृक्षरोपण अभियान नेपाल’ले विगत झण्डै एक दशकदेखि हरेक व्यक्तिको शुभ जन्मदिनमा कम्तीमा एउटा वृक्षरोपण गर्ने अभियान सञ्चालन गर्दै आएको छ।

अभियानका परिकल्पनाकार बासुदेव सेढाईका अनुसार हराभरा प्रकृति, प्रदूषणरहित स्वच्छ वातावरण र प्राणी अस्तित्वको संरक्षणका लागि वृक्षरोपणलाई अभियानका रूपमा अघि बढाइएको हो। अभियानले वृक्षरोपणमार्फत विश्व समुदायलाई जलवायु परिवर्तनका असरप्रति सचेत हुनसमेत अपिल गर्दै आएको छ।

प्रकृति र वातावरणको विनाश बढ्दै गए प्राकृतिक विपत्तिको जोखिम पनि बढ्ने भएकाले विपद्बाट जोगिन प्रकृति तथा वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने अभियानको धारणा छ।

रोटरी क्लब अफ लमजुङका सचिव रेशम घिमिरेले पवित्र अभियानमा जोडिन पाउँदा खुसी लागेको बताए। रोटरी क्लब अफ लमजुङ पछिल्लो समय जन्मदिनमा वृक्षरोपण अभियान नेपालको सहयोगी तथा सहयात्री संस्थाका रूपमा जोडिएको छ। क्लबले आफ्ना प्रत्येक सदस्यको जन्मदिन वृक्षरोपण गरेर मनाउँदै अभियानको लक्ष्यमा साथ दिने निर्णयसमेत गरेको छ।

कार्यक्रममा अभियानका परिकल्पनाकार बासुदेव सेढाई, रोटरी क्लब अफ लमजुङका अध्यक्ष राजु थापा, पूर्वअध्यक्ष श्रीकृष्ण लामिछाने, लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा रोटरी सदस्य विकास थापा, रोटरी सदस्य दीपक पौडेल, तिलकबाबु घिमिरे, सुनिल कँडेललगायतको उपस्थिति थियो।