
वातावरण संरक्षण तथा ग्रामीण पर्यटन प्रवर्द्धनको सन्देशसहित लमजुङमा साइकल यात्रा सुरु भएको छ। लमजुङ साइक्लिङ संघको आयोजनामा शनिबार बेंसीशहरबाट साइकल यात्रा सुरु गरिएको हो।
‘साइकल पर्यटन, वातावरण संरक्षण तथा ग्रामीण पर्यटन प्रवर्द्धन अभियान’ अन्तर्गत आयोजना गरिएको यात्रामा देशका विभिन्न ठाउँबाट आएका पाँच सयभन्दा बढी साइकल यात्री सहभागी छन्।
साइकल यात्रा अभियानको शनिबार बिहान बेंसीसहरमा बेंसीसहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले उद्घाटन गरेका हुन्। लमजुङ साइकल संघका अध्यक्ष ध्रुबराम प्रधानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख अर्याल प्रमुख अतिथि रहेका थिए।

यात्राको पहिलो दिन बेंसीसहरबाट क्व्होलासोथार गाउँपालिकाको पर्यटकीय स्मार्ट भिलेज घलेगाउँसम्म साइकल यात्री पुग्नेछन्। असोज ४ गते घलेगाउँबाट मर्स्याङ्दी गाउँपालिकास्थित हामखोला झरनासम्म साइकल यात्रा गरी त्यहीँबाट कार्यक्रमको समापन गरिने आयोजकले जनाएको छ।
साइकल यात्रामा सहभागीलाई पन्चेबाजाको साथमा बेंसीसहरका विभिन्न आमासमूहले फूलमाला, टीका, खादा तथा रुद्राक्षको माला लगाएर स्वागत गर्दै सफल यात्राको शुभकामना दिएका थिए। बेंसीशहर बजारका विभिन्न स्थानमा आमासमूह, बाबा समूह तथा स्थानीयवासीले साइकल यात्रीलाई स्वागत गरेका थिए।
विश्वव्यापी रूपमा बढिरहेको जलवायु परिवर्तन र वातावरणीय असर न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले साइकल यात्राको आयोजना गरिएको लमजुङ साइक्लिङ संघले जनाएको छ। साइकलको प्रयोगलाई प्रोत्साहन गर्दै वातावरण संरक्षणसँगै लमजुङका ग्रामीण तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने अभियानको उद्देश्य रहेको आयोजकको भनाइ छ।
साइकल यात्राले जिल्लाका ग्रामीण बस्ती तथा पर्यटकीय गन्तव्यको प्रचार–प्रसारसँगै स्थानीय पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रमको सहजिकरण साइक्लिङ संघका रविन श्रष्ठले गर्नुभएको छ ।










