बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीको ५७ करोड ८५ लाख सहयोग

-


     नयाँ दीप    
     असाेज ३ गते २०८३ मा प्रकाशित


काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिकाका नेपाली मूलका अष्ट्रेलियाली व्यवसायी तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष डा. शेष घले र उनकी पत्नी जमुना गुरुङले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँसम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्।

घले दम्पतीद्वारा सञ्चालित एमआईटी ग्रुप फाउन्डेसन र राष्ट्रिय बाल अधिकार परिषद्बीच शुक्रबार यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। सहयोग बाढीका कारण अभिभावक गुमाएका तथा प्रभावित १८ वर्षमुनिका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, आवास र मनोसामाजिक सहयोगमा खर्च गरिनेछ।

सम्झौताअनुसार बालबालिकाको पहिचान, समन्वय र संरक्षणको काम राष्ट्रिय बाल अधिकार परिषद्ले गर्नेछ भने फाउन्डेसनले आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ। बालबालिकालाई आफन्तको संरक्षणमा राख्न प्राथमिकता दिइने र संस्थागत संरक्षणलाई अन्तिम विकल्पका रूपमा लिइनेछ। सहयोग बालबालिका १८ वर्षको उमेर नपुग्दासम्म जारी रहनेछ।

घले दम्पतीले यसअघि पनि बाढी प्रभावितका लागि आपत्कालीन राहतमा सहयोग गरिसकेका छन्। लमजुङको क्व्होलासोथार गाउँपालिका घर भएका र हाल अष्ट्रेलियामा व्यवसाय गर्दै आएका घलेले नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्।