अपर त्रिशूली–३ए सुरुङमा लमजुङकी रमिला भण्डारी, सकुशल उद्धारको आशा

-


     सृजना बराल     
     भाद्र १२ गते २०८३ मा प्रकाशित


रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अपर त्रिशूली–३ए जलविद्युत् आयोजनामा कार्यरत लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ की रमिला भण्डारी सम्पर्कविहीन बनेकी छन्। पछिल्लो प्राप्त जानकारीअनुसार उनी बाढीबाट जोगिन आयोजनाको सुरुङभित्र सुरक्षित स्थानमा अन्य कर्मचारी तथा कामदारसँगै बसेको खबर आएको छ।

नेपाल विद्युत् प्राधिकरणमा कार्यरत रमिलासहित आयोजनाका अन्य कर्मचारी तथा कामदारहरू पनि सुरुङभित्र रहेको बताइएको छ। बाढीका कारण बाहिरी सम्पर्क विच्छेद भए पनि सुरुङभित्र रहेका केही व्यक्तिहरू सुरक्षित रहेको जानकारी प्राप्त भएपछि रमिला पनि सकुशल रहेको हुनसक्ने आशा बढेको छ।

रमिला भण्डारीको परिवारले उनीसहित सुरुङभित्र रहेका सम्पूर्ण व्यक्तिको यथाशीघ्र सकुशल उद्धारका लागि सरकार, नेपाली सेना, नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग तत्काल प्रभावकारी पहल गर्न आग्रह गरेको छ।

बाढीपछि नेपाली सेना तथा सुरक्षा निकायले रसुवाका विभिन्न जोखिमयुक्त स्थानमा रातदिन उद्धार कार्य जारी राखेका छन्। अपर त्रिशूली क्षेत्रका सुरुङमा फसेका सयौँ मानिसको उद्धारसमेत गरिएको र अझै बाँकी रहेकाहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेको छ।

रमिलासहित सुरुङभित्र रहेका सबैको सकुशल उद्धार हुने आशामा परिवार, आफन्त र शुभेच्छुकहरू प्रतीक्षारत छन्।