अपी पावर र दिव्यज्योति हाइड्रोले बाढीपीडितका लागि ४० लाख सहयोग

-


     नयाँ दीप    
     भाद्र ११ गते २०८३ मा प्रकाशित


लमजुङ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन अपी पावर कम्पनी लिमिटेड र उसको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडले ४० लाख रुपैयाँ सहयोग गरेका छन्।

दुवै कम्पनीले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन्। अपी पावरले ३५ लाख रुपैयाँ र दिव्यज्योति हाइड्रोपावरले ५ लाख रुपैयाँ गरी कुल ४० लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन्।

अपी पावर कम्पनीका निर्देशक सञ्जीव न्यौपानेले विपद्को कठिन परिस्थितिमा नागरिकको जीवनरक्षा, उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए। यही सामाजिक उत्तरदायित्व र मानवीय भावनाका साथ राहत कोषमा सहयोग गरिएको उनको भनाइ छ।

दिव्यज्योति हाइड्रोपावरले पनि बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका काममा सहयोग पुर्‍याउने उद्देश्यले ५ लाख रुपैयाँ राहत कोषमा प्रदान गरेको जनाएको छ।

दुवै कम्पनीले बाढीका कारण घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

दिव्यज्योति हाइड्रोपावरले लमजुङको मर्स्याङ्दी नदीमा ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेंसी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। बेंसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका क्षेत्र भएर बग्ने मर्स्याङ्दी नदीमा उक्त आयोजना निर्माणाधीन छ। अपी पावर कम्पनी दिव्यज्योति हाइड्रोपावरको प्रमुख लगानीकर्ता तथा बहुमत सेयरधनीका रूपमा रहेको छ।