
लमजुङको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले आफ्नो जन्मदिन वृक्षारोपण गरेर मनाउनुभएको छ। साउन १५ मा परेको जन्मदिनको अवसरमा गाउँपालिका परिसरमा एभोकाडो तथा गुलमोहरका बिरुवा रोप्दै उहाँले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र दिगो विकासप्रतिको प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
वृक्षारोपण कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा अध्यक्ष गुरुङले प्रकृतिको संरक्षण र स्वच्छ वातावरण निर्माणका लागि प्रत्येक नागरिकले वृक्षारोपणलाई जीवनशैलीसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले जन्मदिनजस्ता व्यक्तिगत खुसीका अवसरलाई सामाजिक तथा वातावरणीय हितसँग जोड्दा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो।

गाउँपालिकाले अध्यक्ष गुरुङको यस कार्यले वातावरण संरक्षण, हरियाली विस्तार र दिगो विकासप्रतिको सचेतना अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। जन्मदिनको अवसरमा गाउँपालिका परिवारले अध्यक्ष गुरुङको उत्तरोत्तर स्वास्थ्य, सुख, समृद्धि, दीर्घायु तथा सफल नेतृत्वको कामना गर्दै शुभकामना व्यक्त गरेको छ।
वृक्षारोपणका लागि आवश्यक एभोकाडो र गुलमोहरका बिरुवा उपलब्ध गराएको भन्दै गाउँपालिकाले डिभिजन वन कार्यालय लमजुङप्रति पनि आभार व्यक्त गरेको छ।
मर्स्याङ्दी गाउँपालिकाले पछिल्लो समय वातावरण संरक्षण र हरियाली प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विभिन्न वृक्षारोपण तथा संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ।









