बेसीशहरमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सचेतना

-


     नयाँ दीप    
     वैशाख १४ गते २०८३ मा प्रकाशित


स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश को आयोजना तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको समन्वयमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना तथा प्रवद्र्धन कार्यक्रम लमजुङको बेसीशहर सम्पन्न भएको छ। कार्यक्रममा चिकित्सक सेवा महाशाखाका डा. रमेश केसी ले स्वस्थ जीवनशैली, नसर्ने रोग तथा यसको रोकथामका उपायबारे जानकारी गराउनुभयो।

उहाँले मुटु स्वस्थ राख्न हप्तामा कम्तीमा १५० मिनेट वा दैनिक ३० मिनेट मध्यम खालको व्यायाम आवश्यक रहेको बताउनुभयो। साथै दैनिक करिब ४०० ग्राम सागपात तथा फलफूल सेवन गर्न, ध्यान–योग र मेडिटेसनजस्ता अभ्यास अपनाउन सुझाव दिनुभयो।

कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार १५ देखि ६९ वर्ष उमेर समूहका करिब ७.४ प्रतिशत व्यक्तिहरूले न्यूनतम शारीरिक गतिविधि समेत नगर्ने गरेको जानकारी दिइयो। यसले नसर्ने रोगको जोखिम बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको थियो।
त्यस्तै, कार्यक्रममा सहभागीहरूलाई नाडी शुद्धी र इसा क्रिया जस्ता योग अभ्यासहरू गराइएको थियो। स्वस्थ रहन प्राकृतिक खानेकुरा सेवन गर्न, प्रकृतिसँग नजिक रहन तथा नियमित योग–ध्यान अभ्यास गर्नुपर्नेमा जोड दिइएको थियो। यस्ता अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव पार्ने बताइएको थियो।

स्वस्थ जीवनशैलीका लागि सन्तुलित भोजन, सही समयमा खाना खाने बानी, पर्याप्त निद्रा तथा समय–समयमा उपवास बस्ने अभ्यासले पनि सकारात्मक प्रभाव पार्ने जानकारी गराइएको थियो। कार्यक्रममा बेसीशहर नगरपालिका का कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीहरू तथा पत्रकारको उल्लेख्य सहभागिता रहेको थियो ।