बेसीशहर नगरपालिकाले फोहोरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्र निमार्णका लागि जग्गा खोज्दै

-


     नयाँ दीप    
     वैशाख १४ गते २०८३ मा प्रकाशित


बेसीशहर नगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई आधुनिक र वातावरणमैत्री बनाउन “फोहोरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्र” निर्माण गर्ने तयारी गरेको छ। सोही उद्देश्यका लागि नगरपालिकाले उपयुक्त जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना जारी गर्दै इच्छुक पक्षलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो।

नगरपालिकाका अनुसार आफ्नो क्षेत्रभित्र दैनिक रूपमा उत्पादन हुने फोहोरलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न केन्द्र स्थापना गर्न लागिएको हो। यसका लागि निजी व्यक्ति, परिवार, समूह वा संस्थाले जग्गा बिक्री वा निःशुल्क दानमार्फत उपलब्ध गराउन सक्नेछन्। त्यसका लागि सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

नगरपालिकाले जग्गा छनोटका लागि निश्चित मापदण्ड पनि तोकेको छ। प्रस्तावित स्थान पर्याप्त क्षेत्रफल भएको, बस्ती तथा विद्यालय, अस्पताल र धार्मिक स्थलबाट उचित दूरीमा रहेको, सडक पहुँच भएको वा विस्तार गर्न सकिने सम्भावना भएको हुनुपर्नेछ। साथै, बाढी–पहिरो जस्ता जोखिमबाट सुरक्षित र वातावरणीय हिसाबले उपयुक्त हुनुपर्ने शर्त राखिएको छ।

जग्गा निःशुल्क उपलब्ध गराउने प्रस्तावलाई विशेष प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ भने आवश्यक परे प्रचलित कानुनअनुसार खरिद प्रक्रिया पनि अघि बढाइनेछ। आवेदकले नागरिकता, जग्गाधनी प्रमाणपत्र, कर तिरेको रसिद, नक्सा लगायतका कागजात संलग्न गर्नुपर्नेछ।

प्राप्त प्रस्तावहरूको प्राविधिक टोलीमार्फत स्थल निरीक्षण गरिनेछ र वातावरणीय प्रभाव मूल्याङ्कन सहितका आधारमा उपयुक्त जग्गा छनोट गरिने नगरपालिकाले जनाएको छ। अन्तिम निर्णय गर्ने अधिकार भने नगरपालिकाकै रहनेछ।
नगरपालिकाले दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्यसहित यो पहल अघि बढाएको उल्लेख गरेको छ।

करिब १० वर्ष भन्दा अघिदेखि बेसीशहर नगरपालिकाको फोहर कर्पुरेश्वर मन्दिर नजिकै मर्स्याङदी नदी किनारामा फालिदै आएको छ । फोहरको उचित व्यवस्थापनका लागि नगरबासीले माग गर्दै आएका छन् ।