
आगामी निर्वाचनलाई लक्षित गर्दै लमजुङमा मिडिया डेक्स स्थापना गरिएको छ। बेसीशहरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको सभाहल परिसरमा मिडिया डेक्स स्थापना गरिएको हो।
मतदान सम्पन्न भएपछि मत गणनाको नजिता अपडेट गर्न रिपोटिङमा सहज होस् भन्ने उद्धेश्यले नेपाल पत्रकार महासंघ लमजुङको पहलमा मिडिया डेक्स स्थापना गरिएको हो । मिडिया डेक्सको एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथि मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले ब्यानर पढेर उद्घाटन गर्नुभएको हो ।
नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, प्रहरी नायव उपरिक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी तर्फका प्रहरी नायव उपरिक्षक विकास अधिकारी, जिल्ला निर्वाचन कार्यलयका निर्वाचन अधिकारी लगायतका उपस्थिती रहेको थियो ।
निर्वाचन सूचना, तथ्यांक र आधिकारिक जानकारी सञ्चारमाध्यमलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले मिडिया डेक्स सञ्चालनमा ल्याइएको जनाएको छ। डेक्समार्फत पत्रकारहरूलाई मतदान केन्द्रको अवस्था, सुरक्षा व्यवस्था, मतगणनाको प्रगति लगायतका विषयमा अद्यावधिक सूचना प्रदान गरिनेछ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निष्पक्ष, स्वतन्त्र र पारदर्शी निर्वाचनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने भएकाले सूचना प्रवाहलाई व्यवस्थित बनाउन मिडिया डेक्स स्थापना गरिएको हो । निर्वाचन अवधिभर मिडिया डेक्स नियमित रूपमा सञ्चालनमा रहने र पत्रकारहरूलाई आवश्यक सहजीकरण गरिने कार्यालयले जानकारी दिएको छ ।
भोली २१ हुने निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचनन कार्यालयले जनाएको छ । मतदान पश्चात मतगणना गर्ने कक्षमा तार जाली लगाएर सुरक्षित बनाएको छ । सम्पूर्ण मतदान केन्द्रमा कर्मचारीहरु पुगेर आवश्यक तयारी गरिरहेका छन् । निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रसाशन कार्यालय लमजुङले जनाएको छ ।










