रमिलाको नाम बेपत्ताको सूचीमा सूचिमा सार्वजनिक भएपछि परिवारमा निराशा, ससुरा बुवाको भावुक स्टाटस

-


     नयाँ दीप    
     भाद्र २० गते २०८३ मा प्रकाशित


लमजुङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकामध्ये लमजुङकी रमिला भण्डारीको नाम नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो सूचीमा समेत परेपछि परिवारमा पुनः निराशा छाएको छ।

मर्स्याङ्दी गाउँपालिका–३, खुदीकी ३४ वर्षीया रमिला भण्डारी माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनामा कार्यरत थिइन्। भदौ १० गते राति आएको विनाशकारी बाढीपछि उनी सम्पर्कविहीन भएकी हुन्।

रमिलाको अवस्था पत्ता लगाउन परिवार र आफन्तले लामो समयदेखि खोजी तथा उद्धारको आशा गरिरहेका थिए। तर, प्राधिकरणले हालै सार्वजनिक गरेको सम्पर्कविहीन कर्मचारीको विवरणमा उनको नामसमेत समावेश भएपछि परिवार थप पीडामा परेको छ।

रमिलाको खोजी जारी रहेकै अवस्थामा बेपत्ता भएको ११ औ दिनमा उनका ससुरा बुवाले सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक स्टाटस लेख्दै बुहारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले रमिलाले छाडेर गएको सन्तानको पालनपोषण, शिक्षा र भविष्यको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आमाको अभाव भने पूरा गर्न नसकिने पीडा व्यक्त गरेका छन्।

ससुरा बुवाको भावपूर्ण श्रद्धाञ्जली

भावपूर्ण श्रद्धाञ्जली रमीला
भाद्र १० गतेको महाविपति सँगै तिमी पनि त्यही त्रिशूली नदीको भेलमा सदा सदाको लागि हामीसँग कहिल्यै नभेटने गरि विलिन भयौ । अलविदा रमीला, हामीले लाखौं प्रार्थना गरेपनि तिमीलाई बचाउन सकेनौं । तिम्रो मुटुको टुक्रा हामीलाई सुम्पेको नासो लाई हुर्काउने,पढाउने सवै काम हामी गर्न सकौंला तर जन्मदिने आमाको अभाव कसरी पूरा गरौंला । उनले ममी,ममी भन्दै मेरो ममी ल्याई दिनोस भनी तारन्तार भनिरहिछन । कठै दैव यो उनको पुकार सुनिनस । आमाको न्यानो माया दिएर खुशी बनाउने जिम्मेवारी हाम्रो जिम्ममा छ । त्यो पूरा गर्नेछु ।तिमी जहाँ भएपनि सुखले बस । हामीलाई कहिल्यै नविर्सने घाउ लागेको छ हाम्रो भविष्यको शाहरा गुमाएका छौं ।म बाचिन्जेल तिमीलाई सम्झेर,माया गरेर,तिम्रो अभाव खडकीरहने छ ।अन्तमा म र मेरो परिवारबाट कहीँ कतै कमीजोरी भए क्षमा गरीदेउ रमीला ।