
रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएपछि आठ दिनसम्म खोजी गर्दा पनि कुनै खबर नआएपछि परिवारले कुशको शव बनाएर काजकिरिया सुरु गरिसकेकी ६४ वर्षीया चन्डिका श्रेष्ठ जीवितै भेटिएकी छन्।
नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा शनिबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोलीले आनन्द श्रेष्ठको बाढीले पुरिएको घरबाट ४ तले घरको चौथो तलाबाट उहाँकी श्रीमती श्रेष्ठको जीवितै उद्धार भएको छ । सकुशल उद्धार गरेको हो। काजकिरिया चलिरहेकै बेला उनी जीवितै भेटिएपछि परिवारमा अविश्वसनीय खुसी छाएको छ।
बाढीपछि हराइरहेकी श्रेष्ठलाई घरभित्रबाट उद्धार गरिएसँगै लामो समयदेखि आफन्तमा छाएको निराशा आशामा बदलिएको छ।
११औँ दिनमा टनेलबाट चिनियाँ नागरिकको उद्धार
यसैबीच, भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ ९२१६ मेगावाट जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकलाई समेत जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञ टोलीको संयुक्त प्रयासमा उनलाई केहीबेरअघि टनेलबाट उद्धार गरिएको हो। उद्धार गरिएका उनलाई नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकमा ल्याउने तयारी गरिएको छ।
बाढी आएको ११औँ दिनमा टनेलभित्रबाट जीवितै उद्धार गरिनु खोजी तथा उद्धार अभियानकै महत्वपूर्ण घटनाका रूपमा लिइएको छ।
भोटेकोशी बाढीपछि लामो समयसम्म बेपत्ता रहेका दुई जनालाई जीवितै उद्धार गरिनुले विपद्का घटनामा आशा नछोड्नुपर्ने सन्देशसमेत दिएको छ।









