
लमजुङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि लमजुङको मध्यनेपाल नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो विपद् व्यवस्थापन कोषबाट उक्त रकम जम्मा गर्ने जनाएको हो। नगरपालिकाले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत रसुवाबाट सुरु भएको बाढीपहिरोले नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन हुँदै नवलपरासीसम्म पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
नगरपालिका प्रमुख रमेशकुमार पाण्डेद्वारा जारी विज्ञप्तिमा विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। घाइते तथा बाढीपहिरोबाट प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामनासमेत गरिएको छ।
स्थानीय सरकारको तर्फबाट मानवीय सहयोग तथा प्रभावित नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्न नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।
नगरपालिकाले विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति र ऐक्यबद्धता जनाउँदै उद्धार, राहत, उपचार र पुनःस्थापनाका लागि भइरहेका सरकारी तथा अन्य प्रयासप्रति समर्थन जनाएको छ।
यसैगरी, विपद्को कठिन परिस्थितिमा सहयोग तथा मानवीय सहायता उपलब्ध गराउने मित्रराष्ट्र भारतसहित विभिन्न राष्ट्र, संघसंस्था तथा सहयोगी निकायप्रति मध्यनेपाल नगरपालिकाले आभार व्यक्त गरेको छ।









