
लमजुङका स्वास्थ्यकर्मीलाई दृष्टिविहीन तथा अपांगता भएका व्यक्तिका लागि समावेशी स्वास्थ्य सेवा प्रवाहमा रहेका सरकारी प्रावधानबारे अभिमुखीकरण गराइएको छ। स्वास्थ्य सेवामा अपांगता भएका व्यक्तिको सहज र समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले नेपाल नेत्रहीन संघ समावेशी विकासका लागि कार्य र लमजुङ नेत्रहीन संघको आयोजनामा बुधबार बेँसीशहरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।
जिल्लाका स्वास्थ्यकर्मीहरुका लागि समावेशी स्वास्थ्य सेवा प्रवाहमा सरकारी प्रावधानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा दृष्टिविहीन तथा अपांगता भएका व्यक्तिले स्वास्थ्य सेवा लिँदा आवश्यक पर्ने व्यवहारिक सहजीकरण, स्वास्थ्यकर्मीले अपनाउनुपर्ने व्यवहार तथा स्वास्थ्य संस्थालाई अपांगतामैत्री बनाउने विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा स्वास्थ्य संस्थामा सेवा लिन आउने दृष्टिविहीन तथा अन्य अपांगता भएका व्यक्तिलाई सम्मानजनक, सहज र पहुँचयुक्त सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने बताइएको थियो। स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा अपांगता भएका व्यक्तिले भोग्नुपर्ने व्यवहारिक कठिनाइ पहिचान गरी सेवा प्रवाहलाई सहज बनाउनुपर्नेमा समेत जोड दिइएको थियो।
कार्यक्रमका विषय विज्ञ डा। शरद कोइराला र सीता साहले सहभागी स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिएका थिए। उनीहरुले स्वास्थ्य सेवा प्रवाहका क्रममा दृष्टिविहीन तथा अपांगता भएका व्यक्तिको आवश्यकता र अवस्थालाई बुझेर सेवा दिनुपर्ने बताए।
नेपाल नेत्रहीन संघ समावेशी विकासका लागि कार्य लमजुङका पुनस्र्थापना अधिकृत प्रेम महर्जनले स्वागत गर्दै कार्यक्रमको उद्देश्य र गतिविधिबारे जानकारी दिएका थिए। उनका अनुसार स्वास्थ्य सेवामा अपांगता भएका व्यक्तिको पहुँच विस्तार गर्न स्वास्थ्यकर्मीलाई सरकारी व्यवस्था तथा व्यवहारिक पक्षबारे जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य थियो ।
लमजुङ नेत्रहीन संघका जेष्ठ सदस्य गोपाल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल नेत्रहीन संघ समावेशी विकासका लागि कार्य लमजुङका वरिष्ठ फिल्ड सुपरभाइजर जीवन डल्लाकोटीले गरेका थिए।
स्वास्थ्य सेवामा समान पहुँच र सहभागिता सुनिश्चित गर्न आवश्यक ज्ञान तथा व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा लमजुङका ८ वटै पालिका र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य शाखा प्रमुखलगायत स्वास्थ्यकर्मीको सहभागिता थियो ।









