
लमजुङको बेँसीसहरस्थित कर्पुरेश्वर टोल विकास समितिले फोहोर व्यवस्थापनमा बेँसीसहर नगरपालिकाले ठोस पहल नगरे साउन २१ गतेपछि फोहोर बोकेका गाडी सञ्चालनमा रोक लगाउने चेतावनी दिएको छ।
समितिका संयोजक लोकबहादुर गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले साउन २१ गतेभित्र फोहोरको उचित व्यवस्थापन गर्न नगरपालिकालाई आग्रह गर्दै सो अवधिसम्म पनि समस्या समाधान नभए कर्पुरेश्वर–दनैफाँट क्षेत्रबाट तल नगरपालिका क्षेत्रको फोहोर बोकेका सवारीसाधनलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो।
समितिका अनुसार बेँसीसहर नगरपालिका–८ अन्तर्गत मर्स्याङ्दी नदी किनारमा लामो समयदेखि अव्यवस्थित रूपमा फोहोर फालिँदै आएको छ। यसले धार्मिक तथा पर्यटकीय महत्व बोकेको कर्पुरेश्वर मन्दिर, कर्पुरेश्वर पार्क, नदी आसपासको वातावरण तथा स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परेको समितिको भनाइ छ।
बैठकले विगतमा पटक–पटक मौखिक रूपमा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधानतर्फ चासो नदिएको निष्कर्ष निकाल्दै अब थप फोहोर फाल्न नदिने निर्णय गरेको जनाएको छ।
त्यसैगरी, वि सं २०७९ साउन २ गते फोहोर व्यवस्थापनका विषयमा सरोकारवाला कार्यालय, संस्था तथा राजनीतिक दलहरूको सर्वपक्षीय बैठकबाट भएका निर्णयहरूको प्रतिलिपि सम्बन्धित निकायलाई पुनः बोधार्थ पठाउने निर्णय पनि गरिएको छ।
स्थानीयका अनुसार २०६९ साल देखि बेँसीसहर नगरपालिकाको फोहोर कर्पुरेश्वर पार्क नजिकैको मर्स्याङ्दी नदी किनारमा फालिँदै आएको स्थानीय मिलन शर्मा दनाईले बताउनुभयो । यसबाट दनाई फाँट तथा आसपासका बस्तीमा दुर्गन्ध फैलिएको, वातावरण प्रदूषित भएको र जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै स्थानीयले दीर्घकालीन फोहोर व्यवस्थापनको माग गर्दै आएका छन्।
उता बेँसीसहर नगरपालिकाले भने स्थायी फोहोर व्यवस्थापनका लागि उपयुक्त जग्गाको खोजी भइरहेको तर हालसम्म उपयुक्त स्थान फेला नपरेको जनाएको छ।









