रातिको समयमा लमजुङका २ वटा सडकखण्डमा सवारी बन्द हुने

-


     सृजना बराल     
     असार १६ गते २०८३ मा प्रकाशित


मनसुन सक्रिय भएसँगै बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम बढेपछि लमजुङ जिल्ला सुरक्षा समितिले बेँसीसहर–चामे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय लमजुङले सुचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको असार १४ गतेको मनसुनसम्बन्धी बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सतर्कता सन्देशलाई आधार मानेर उक्त निर्णय गरिएको हो।

निर्णयअनुसार असार १६ गतेदेखि असार मसान्तसम्म रातिको समयमा तोकिएका सडकखण्डमा सवारी सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ।
बन्द हुने सडकखण्डमा डुम्रे–बेँसीसहर–चामे सडकको बेँसीसहरदेखि मनाङ जिल्लाको सिमानासम्म (आवतजावत दुवैतर्फ) तथा पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत सुन्दरबजार–भोर्लेटारक सडकखण्ड (दुवैतर्फ) रहेका छन्।

समय तालिकाअनुसार डुम्रे–बेँसीसहर–चामे सडकखण्डमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द रहनेछ भने सुन्दरबजार–भोटेओडार सडकखण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिनेछ।

जिल्ला प्रहरी कार्यालयले वर्षायाममा रातिको समयमा यात्रा नगर्न, आवश्यक परे वैकल्पिक समयमा यात्रा गर्न तथा सुरक्षाका लागि जारी सूचनाको पूर्ण पालना गर्न सबै सवारी चालक र यात्रुलाई अनुरोध गरेको छ। साथै, अत्यावश्यक बाहेक रातिको यात्रा नगर्न र मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।