वर्षायामसँगै लमजुङका जलविद्युत् आयोजनामा उत्पादन वृद्धि

-


     भरत बाबु घिमिरे    
     असार १६ गते २०८३ मा प्रकाशित


वर्षायाम सुरु भएसँगै नदी तथा खोलामा पानीको बहाव बढेपछि लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन उल्लेखनीय रूपमा बढेको छ। केही समयदेखि न्यून उत्पादन गरिरहेका अधिकांश आयोजना अहिले पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्।

जिल्लाको सबैभन्दा ठूलो ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजना, ५० मेगावाटको माथिल्लो मध्य मर्स्याङ्दी ‘ए’ आयोजना पनि पूर्ण क्षमतामै सञ्चालनमा रहेको छ।

पानीको बहाव बढेसँगै अन्य जलविद्युत् आयोजनाहरूको उत्पादनमा पनि उल्लेखनीय सुधार आएको छ। ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, ३० मेगावाटको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, ७ मेगावाटको अपर मिदिम, ५ मेगावाटको सिस्नेखोला तथा ४।४ मेगावाटको राधीखोला जलविद्युत् आयोजनाले पनि उत्पादन बढाएका छन्।

ठूला आयोजनासँगै जिल्लामा सञ्चालित साना जलविद्युत् आयोजनाहरूले समेत वर्षायामको लाभ उठाउँदै उत्पादन वृद्धि गरेका छन्। ४ मेगावाटका खुदीखोला र अपर छन्दीखोला, ३ मेगावाटको मिदिमखोला, २।४ मेगावाटको अपर स्याङ्गे खोला, २ मेगावाटको छन्दीखोला तथा १८३ किलोवाटको स्याउडे माइक्रोहाइड्रो र ८० किलोवाटको मिदिम माइक्रोहाइड्रो पनि नियमित सञ्चालनमा रहेका छन्।

लमजुङ जलविद्युत् उत्पादनको प्रमुख केन्द्रका रूपमा परिचित जिल्ला हो। यहाँबाट उत्पादित अधिकांश विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएर देशभर आपूर्ति हुँदै आएको छ। वर्षायाममा उत्पादन बढेसँगै राष्ट्रिय विद्युत् प्रणालीलाई थप सहज बनाउन र ऊर्जा आपूर्तिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार मनसुन अवधिमा नदीहरूको बहाव उच्च हुने भएकाले ‘रन अफ द रिभर’ प्रविधिमा आधारित जलविद्युत् आयोजनाहरूले यही समयमा सबैभन्दा बढी विद्युत् उत्पादन गर्ने गर्छन्। यसले देशको बढ्दो ऊर्जा माग पूरा गर्न र विद्युत् आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।