बालकल्याण माविको स्वर्ण महोत्सवमा संस्थापक, जग्गादाता र चन्दादातालाई सम्मान

-


     सृजना बराल     
     पौष २५ गते २०८२ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका–२, भकुण्डेमा अवस्थित श्री बालकल्याण माध्यमिक विद्यालयलको स्वर्ण महोत्सवमा विद्यालयका संस्थापक, जग्गादाता र चन्दादातालाई सम्मान गरिएको छ । तीनदिनदेखी बिशेष कार्यक्रमका साथ मनाईएको स्वर्ण महोत्सवमा शुक्रबार विद्यालयका संस्थापक र चन्दादातालाई सम्मान गरिएको हो ।

२०३२ सालमा विद्यालय स्थापना गर्दा जग्गा प्रदान गर्ने जग्गादाता, संस्थापक र बिशेष चन्दादातालाई सम्मानपत्र, दोसल्ला ओढाउनुको साथै पञ्चे बाजा बजाएर स्वर्ण महोत्सवमा सम्मान गरिएको हो । विद्यालयका संस्थापक, जग्गादाता र चन्दादातालाई बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना, अध्यक्ष मदनबहादुर राना लगायतले सम्मान गर्नु भएको हो ।

कार्यक्रममा नगरप्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिवाकर शर्मा, संस्थापक कोशलेन्द्र कंडेल लगायतले बिद्यालयले डिजिटल शिक्षण सिकाइ, शिक्षक सक्षमता विकास, भौतिक पूर्वाधार सुधार, नयाँ भवन निर्माण, पुस्तकालय तथा सभाहल निर्माण जस्ता कार्यक्रम अघि सारेर स्वर्ण कोष स्थापना गरेकोमा खुसी व्यक्त गर्दै विद्यालयले गरिरहेको प्रयास सकारात्मक रहेको बताउनु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रअ विष्णुप्रसाद बरालले बार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विव्यस अध्यक्ष मदन रानाले विद्यालयको भावि योजना समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक बुद्धिसागर बरालले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख जिल्ला अधिकारी उमेश ढुगांना, जिल्ला शिक्षा समन्वय प्रमुख दिवाकर चिलुवाल, बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन अधिकारी, शिक्षाप्र्रेमी चन्दादाता कोषलेन्द्र कढेँल, विद्यार्थी समीक्षा बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएकोे थियो ।

स्वर्ण महोत्सव मूल समारोह समतिकिा संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनबहादुर रानाको अध्यक्षतामा भएको समापन कार्यक्रममा शिक्षक भरत खड्काले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुती, आमा समुह तथा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालयले स्वर्ण महोत्सवपछि विद्यालयले दीर्घकालीन रूपमा आफूलाई आधुनिक र अभिभावकको प्राथमिकता हुने शिक्षालयको रूपमा विकास गर्ने लक्ष्यका साथ डिजिटल शिक्षण सिकाइ, शिक्षक सक्षमता विकास, भौतिक पूर्वाधार सुधार, नयाँ भवन निर्माण, पुस्तकालय तथा सभाहल निर्माण, बालउद्यान जस्ता दर्जनौँ योजना अघि सारेकाले त्यसका लागि स्वर्ण कोष अभियान संञ्चालन गर्दै आएको छ । स्वर्ण कोषमा हालसम्म करिब ८० लाख रुपैया संकलन भएको विद्यालयले जनाएको छ ।