रमणिय कर्पुरेश्वर पार्क आन्तरिक पर्यटकको रोजाईमा

-


     सृजना बराल    
     मंसिर २३ गते २०८२ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिकाको वडा नं. ८ मा बनेको कर्पुरेश्वर पार्क बालबालिका देखि ठुला ब्यक्तिको रोजाईमा पर्ने गरेको छ । सदरमुकाम बेसीशहरमा खुला ठाउँको अभाव रहेको बेला बेसीशहर नगरपालिकाले रमणीय पार्क निर्माण गरेपछि सबैको केन्द्र बनेको हो ।

बेसीशहरको दनाईफाँटको फेदीमा रहेको सो कर्पुरेश्वर पार्कमा बालबालिकाहरु खेल्नका लागि बाल उद्यान बनाइएको छ भने युवा तथा वृद्धवृद्धाहरुलाई डुल्ने, रमाउन तथा पिकनिक स्पटको रुपमा छनोटमा पर्ने गरेको छ ।

पार्कको गेट प्रवेश गर्ने वित्तिकै महादेवको बसेको मुर्तीको दर्शन गर्न सकिन्छ । त्यस्तैगरी यो पार्कबाट उत्तरतर्फ फर्केर हेर्दा उत्तर पश्चिममा रहेको गाउँशहरको डाँडामा लमजुङ दरवार र लमजुङ कालिका मन्दिर देखिन्छ । त्यसैगरी उत्तर पूर्वी भागमा पुवाँगाउँ, बाग्लुङपानीदेखि चण्डीस्थाानको भ्यू टावर देखिन्छ । दक्षिणतर्फ बगिरहेको मस्र्याङ्दी नदी देखिन्छ भने पारीपट्टी सुन्दर हरियाली देखिन्छ ।

७ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा बस्नको लागि व्यवस्थीत रुपमा कुर्चिहरु बनाइएको छ भने, घामपानीबाट बच्न तथा पाटी र व्यवस्थित शौचालय निर्माण र खानेपानीको राम्रो व्यवस्था गरिएको छ ।

पार्कभित्रका संंरचनाहरु अझै निर्माण गर्न बाँकी रहेको र यस ठाउँलाई अझ व्यवस्थित बनाउन सके आन्तरिक पर्यटनको एउटा केन्द्र बन्न सक्ने बेसीशहर नगरपालिका वडा नं ८ का वडाध्यक्ष पवित्रा थापाले बताउनुभयो ।