
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । यसवर्ष ‘प्रविधिको सहि प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथका अभियान सञ्चालन भएको हो । अभियानको पहिलो दिन मंगलबार लमजुङ सदरमुकाम बेसीशहरमा सचेतनामूलक र्याली र अभियानबारे अभिमुखिकरण कार्यक्रम भएको छ ।
बेसीशहर नगरपालिकाको अगुवाइमा जिल्ला प्रहरी कार्यालय, एकीकृत सेवा कार्यालय, नगरपालिका स्तरीय महिला संजाल, वल्र्ड भिजन इन्टरनेश्नल नेपाल, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि), सञ्चारिका समूह लमजुङ र कोशिश नेपाल लमजुङको सहकार्यमा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीहरु, सुरक्षाकर्मीहरु, विभिन्न संघ सस्था, महिला सञ्जाल, आमा समूह, सञ्चारकर्मी, नगरप्रहरी लगायतको सहभागिता थियो ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै बेसीशहर नगरपालिका प्रमुख गुमान सिहं अर्यालले लैङ्गिक हिंसा अन्त्यका लागि समुदायको भूमिका निर्णायक हुने भएकाले सबै निकायको सहकार्य अपरिहार्य भएको बताउनु भयो । परिवारदेखि समुदायसम्म चेतना जगाई एकीकृत रुपमा अभियान अघि बढाउनुपर्नेमा उहाँको जोड थियो ।
बेसीशहर नगरपालिका उपप्रमुख पदमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले स्वागत मन्तव्य सहित अभियानको उद्देश्य र महत्वबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक दिपेन्द्र डाँगी र कृष्ण विश्वकर्माले लैङ्गिक हिंसा र साइबर सुरक्षा तथा डिजिटल साक्षरता सम्बन्धित प्रस्तुती राख्नुभएको थियो । प्रविधिको विकास सँगै हिसांको प्रकृति पनि फरक हुदै गएकाले प्रविधिको प्रयोग गर्दा विशेष ध्यान दिनुपर्ने प्रहरीको भनाई छ ।
आगामी मंसिर २४ गते अर्थात् डिसेम्बर १० सम्म सञ्चालन हुने अभियानका क्रममा बेसीशहरमा विभिन्न सचेतना मूलक कार्यक्रमहरु सञ्चालन गरिने बेसीशहर नगरपालिका उपप्रमुख पद्यमा गुरुङले बताउनुभयो । अभियानलाई विशेष प्राथामिकतामा राखेपनि लैङ्गिक हिसां अन्त्यका लागि अन्य समयमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिदै समाजमा कुनै पनि प्रकारका हिसां हुन नदिन र हिंसा नर्गन सवै प्रतिवद्ध हुनुपर्ने वताउनुभयो ।
कार्यक्रमको सहजिकरण बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलले गर्नुभएको थियो । यसवर्ष अभियानका क्रममा विद्यालय तथा समुदाय स्तरमा हिसां न्युनिकरण सम्वन्धी अभिमुखिकरण, परिसम्वाद कार्यक्रम, सूचनामूलक सन्देश जिङ्गल, अन्तरवार्ता जस्ता कार्यक्रम प्रसारण प्रकाशन गरिने भएको छ ।
यसैविच कार्यक्रमका सहभागिहरुले कुनै पनि किसिमको लैङ्गिक हिसां नगर्ने र आफूमाथी हुने लैङ्गि हिसां नसहने र हिसांलाई पश्रय दिने खालको बोली व्यवहार नगर्ने, लैङ्गिक हिसामा परेका व्यक्तिलाई सक्दो सहयोग गर्ने र लैङ्गिक हिसां विरुद्धको अभियानमा ऐक्यवद्धता जनाउने प्रतिवद्धता सहित हस्ताक्षर गरेका थिए ।









