मर्स्याङदी बेसी जलविद्युत स्थानीयलाई झुक्याएर दर्ता गरेपनि कुनै हालतमा आयोजना बन्न नदिने संघर्ष समितिको अडान,

-


     नयाँ दीप    
     कार्तिक ३० गते २०८२ मा प्रकाशित


बेसीशहर क्षेत्र अन्तर्गत निर्माण शुरु भएको मर्स्याङदी बेसी जलविद्युत आयोजना कुनै हालतमा बन्न नदिने अभियान्ताहरुले अडान लिएका छन् । आयोजना विरुद्ध मस्र्याङदी बचाऊ अभियान शुरु गरेका अभियान्ताहरुले संघर्ष समिति गठन गरी आयोजना वातावरणीय प्रभाव प्रतिकुल भएको भन्दै बन्न नदिने घोषणा गरेका हुन् ।

मस्र्याङदी बचाउ अभिायानका लागि गठित संघर्ष समितिले शुक्रबार सदरमुकाम बेसीशहरमा पत्रकार सम्मेलन गरी आयोजना विरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

कार्यक्रममा बोल्दै समितिका संयोजक राम थापाले आयोजनाले वातावरणीय प्रभावसँगै भौतिक प्रभाव, सम्भावित प्राकृतिक प्रकोप, शहरी विकास तथा आर्थिक क्षेत्रमा पार्ने नकरात्मक प्रभाव, धार्मिक एवं संस्कृतिक प्रभाव, जैविक विबिधतामा पार्ने प्रभाव लगायतका विषय गम्भीर रहेको भन्दै पर्यावरणको दिर्घकालिन सन्तुलनका लागि सो आयोजना घातक भएको बताउनुभयो । उहाँले बेसीशहरका स्थानीयलाई झुक्याएर दर्ता प्रक्रिया अघि बढेको भएपनि कुनै हालतमा आयोजनाका कार्य अघि बढ्न नदिने दावी गर्नुभयो ।

सोहि कार्यक्रममा बोल्दै समितिका सल्लाहकार डा बालकृष्ण बरालले आयोजनाको विस्तृत अध्ययन गरी यसका बेफाईदाका बारेमा आम जनमानसमा सचेतना फैलाउनुपर्ने र त्यसका विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिनुभयो । निहित व्यक्ती वा समुहको स्वार्थका लागि समग्र बेसीशहरको पर्यावरण विगार्न खोज्नु र त्यसको दिर्घकालिन प्रभाव नागरिकलाई सह्य नहुने डा बरालको भनाई थियो ।

सफा मस्र्याङदी अभियानको नाममा विहिवार नागरिक अन्र्तक्रिया, स्थानिय सरकार र प्रशासन कार्यालयमा समेत जलविद्युत आयोजना निर्माण कार्य रोक्न आग्रह गरेका प्रभावितहरुले एक साता भित्र आयोजना निर्माण कार्य नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । आयोजनाको प्रभावलाई मनन गर्दै जनताको आवश्यकता र मागको पक्षमा उभिन जनप्रतिनिधी, राजनितिक दल र सम्बद्ध सरोकारवालाहरुलाई समेत आग्रह गरेका छन् ।

प्रत्यक्ष सरोकार राख्ने स्थानीयसँग कुनैपनि परामर्श र जानकारी विना मस्र्याङदी बेसी हाइड्रोपावरले बेसीशहर नगरपालिका वडा नं. १० मा निमार्ण कार्य अघि वढाएको भन्दै स्थानीयले मस्र्याङदी नदीलाई बचाउनुपर्ने, जिल्ला सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाको मुख्य वजार क्षेत्र तथा मानव बस्ती जोगाउन तर्फ सवै एक जुटु हुनपर्ने आवाज उठाएका छन् ।
आयोजनाले बेसीशहर क्षेत्रको समग्र वातावरण प्रदुषण गर्ने र पारिस्थितिक प्रणाली समेत विगार्ने भन्दै प्राकृतिक सन्तुलन विगार्ने आयोजना विकास नभई विनास भएको अभियान्ताहरुले दावी गरेका छन् ।

पत्रकार सम्मेलनमा समितिका सल्लाहकारहरु खेमजङ गुरुङ, नारायण प्रसाद घिमीरे, सह संयोजक जनकराज बस्नेत लगायत अभियान्ताहरु र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण समितिका सचिव शुरेस प्रधानले गर्नुभएको थियो । यस अघि अभियान्ताहरुले बेसीशहर नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।