
जिल्ला भलिबल संघ लमजुङको तेस्रो अधिवेशनबाट दिवाकर बराल पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।
सोमबार बेँसीसहरमा सम्पन्न संघको अधिवेशन तथा भेलाले बेँसीसहर नगरपालिका–७ का बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
अधिवेशनबाट मत्स्याङ्दी गाउँपालिका–६ का मिनप्रसाद खली उपाध्यक्षमा, मर्स्याङ्दी गाउँपालिका–४ का रवि थापा महासचिवमा, बेँसीसहर नगरपालिका–३ का तिलक दुलाल सचिवमा र बेँसीसहर नगरपालिका–७ की संगीता गुरुङ कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा बेँसीसहर–६ का इन्द्र अधिकारी र राजकुमार राउत, बेँसीसहर–८ का ईश्वर दर्लामी, क्व्होलासोथार गाउँपालिकाका ओमप्रसाद गुरुङ, दोर्दी गाउँपालिका–५ का जफलदिन मियाँ, दूधपोखरी गाउँपालिकाका विनायक दवाडी र मध्यनेपाल नगरपालिकाकी शुस्मा थापा चयन हुनुभएको छ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने नाराका साथ अधिवेशन सम्पन्न भएको संघले जनाएको छ।
नवनिर्वाचित समितिले जिल्लामा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्थानीय तहदेखि जिल्लास्तरसम्म प्रतियोगितालाई व्यवस्थित गर्दै भलिबलको विकासमा योगदान गर्ने अपेक्षा गरिएको नवनिर्वाचित अध्यक्ष बरालले बताउनुभयो ।









