गाउँशहर कालिका मन्दिरमा हुने महापुराणको तयारी तिव्र

-


     सृजना बराल     
     कार्तिक ३० गते २०८२ मा प्रकाशित


लमजुङ जिल्लाको ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्पदामध्ये एक लमजुङ कालिका मन्दिरमा धार्मिक जागरण र कोष स्थापना गर्ने उदेश्यले आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको तयारी तिव्र बनाईएको छ ।

आगामी मंसीर २ गतेदेखि १० गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०८२ आयोजना गरिएको हो । पण्डित दिपक प्रसाद पौडेलको मुखारबिन्दुवाट संगीतमय श्रीमद्भागवत कथा वाचन तथा विविध धार्मिक र जनचेतनामूलक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछ ।

गाँउशहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा हुने सो धार्मिक महोत्सव लमजुङ कालिका मन्दिर परिसर, गाँउशहरमा हुने जनाइएको छ । लमजुङ दरबार र कालिका मन्दिर नै नेपालको शासन प्रणाली, सैनिक परम्परा र सांस्कृतिक विकासको आधारशिला भएकोले महायज्ञले यसको थप पहिचान हुने प्रचार प्रसार समितिका संयोजक राजेन्द्र बोहराले बताउनुभयो ।

मन्दिर क्षेत्र र गाँउशहरको धार्मिक, सांस्कृतिक, भौतिक र पर्यावरणीय विकासका लागि कोष स्थापना गरी दीर्घकालीन विकासमा सहयोग पु¥याउने मुख्य उद्देश्य रहेको छ । भक्तजनहरूको सहजताका लागि बैंकिङ प्रणाली, क्युआर कोड र मोबाइल बैंकिङबाट पारदर्शी रूपमा दान संकलन गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा महायज्ञमा प्रमुख कथा बाचक पण्डित दिपकप्रसाद पौडेलले कथा वाचनका साथै देवलिला, भजन, नृत्य, जनचेतनामूलक नाटक, पितृतर्पण, अन्नदान, तुलादान, चौरासी पूजा, गृहशान्ति पूजा लगायत विविध धार्मिक क्रियाकलाप समेत सञ्चालन गरिने बताउनुभयो ।

आयोजक समितिका संयोजक महेश भुजेलले देश–विदेशमा रहेका लमजुङवासी, समाजसेवी, बुद्धिजीवी र श्रद्धालु भक्तजनहरूलाई सहभागिता जनाउन र लमजुङ कालिका मन्दिर तथा गाँउशहर क्षेत्र विकास अभियानमा जोडिन आग्रह गर्नु भएको छ ।

नेपालको धार्मिक, ऐतिहासिक र सांस्कृतिक धरोहरको संरक्षणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०८२ केवल धार्मिक कार्यक्रम मात्र नभई लमजुङ र नेपालको गौरवमयी इतिहास पुनर्जीवित गर्ने सामूहिक अभियान रहेको आयोजकको भनाई छ ।

कालिका शक्तिपीठ नेपालको इतिहास र स्वाभिमानसँग जोडिएकोले यसलाई संरक्षण र प्रवद्र्धन गर्नु सबैको दायित्य भएकोले महायज्ञलाई सफल पार्न आयोजकले सबैलाई अनुरोध गरेको छ ।

दरबार क्षेत्रको पुरानो संरचना