घर तथा पुस्तकालय भवनमा ढुगां प्रहार गर्ने ३ जना पक्राउ

-


     नयाँ दीप    
     कार्तिक १५ गते २०८२ मा प्रकाशित


विहिबार राती बेसीशहरका दुर्ई सार्वजनिक महत्वका भवनमा ढुंगा प्रहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १३ गते राती लमजुङको बेसीशहर ८ को सेरामा रहेको लक्ष्मीनारायण पुस्तकालयको भवनमा र पत्रकार गणेश पाण्डेको घरमा ढुंगा प्रहार गर्ने ३ जनालाई प्रहरीले प्रकाउ गरेको हो ।

पक्राउ पर्नेमा बेसीशहर ८ मालपोतचोकका १८ वर्षिय आयुष आलेमगर, दोर्दी घर भई बेसिशहर–८ मा बसोबास गर्ने १८ वर्षका प्रदिप तामाङ, र बेसीशहर १० मा बसोबास गर्ने १८ वर्षका योगेश तामाङ रहेका छन् । तीन जनाको समूहले राती करिव १२⁄१ बजेको समयमा दुवै ठाउँमा ढुङ्गा प्रहार गरेका थिए । बेसीशहर बजारको विभिन्न ठाउँमा राखिएको सिसिटिभी फुजेटको आधारमा उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घर

घटनामा संलग्न रहेका उक्त व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, लमजुङ सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताउनुभयो ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा ८२ बर्षीया हजुरआमा सुतेको कोठामा ढुंगा प्रहार गरी सिसा फुटाईएको छ भने, लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको ग्राउण्ड फ्लोरमा रहेको लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थाको कार्यालय रहेको झ्यालमा लगाइएको सिसा फुटाइको छ भने ग्रिल समेत दोब्रिने गरी इटा प्रहार भएको छ । दोब्रिएको ग्रिलमा इटाको दाग समेत देखिन्छ । इटाको चोटले ग्रिलको तल्लोभागमा ठोकिएको किला समेत फुत्किएको छ ।