
मनसुनी वायु सक्रिय हुँदा बिहीबार बिहान रातिदेखि नै देशका विभिन्न ठाउँहरूमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यहिबेला दसैँ परेको र धेरै मानिसहरू यात्रा गर्ने भएकाले सावधानी अपनाउन विभागले भनेको छ । विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा मनसुनी वायु प्रवेश गर्दा मनसुनी वायु सक्रिय भएको हो।
विभागले ठूला तथा स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको जनाएको छ। हालको विश्लेषणअनुसार यो अवधिमा देशको नारायणी, बागमती, कमला, कोशी नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाव उल्लेख्य बढ्ने र खतराको तह आसपास पुग्न सक्ने देखिएको मौसमविद्हरूले जनाएका छन्।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत र चुरे भई बहने स–साना नदीनालाहरुमा आकस्मिकरुपमा पानीको बहाव हुन सक्ने सम्भावना रहेको छ।
नेपालमा मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा विभागले मौसम र बाढीको संभावित विषम अवस्थाको नियमित अनुगमन गरिरहेको जनाएको छ।









