२२ वर्षिय युवकको हत्या आफ्नै साथीद्धारा हत्या

-


     नयाँ दीप    
     असाेज १३ गते २०८२ मा प्रकाशित


लमजुङको राइनास नगरपालिका–४, सातबिसेमा एक युवकले आफ्नै साथीको हत्या गरेका छन् । निर्माणाधीन अवस्थामा रहेको राइनास नगर अस्पतालका सुरक्षा गार्ड अन्दाजी २२ वर्षीय विशाल दाहालको आफ्नै साथीले हत्या गरेको हो ।

दाहाल आफैं सुत्ने कोठामा आइतबार मृत भेटिएपछि प्रहरी चौकी तिनपिप्लेबाट प्रहरी निरीक्षक राजाराम खतिवडाको कमाण्डमा अनुसन्धान टोली खटिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा सिन्धुलीको कमलामाई नगरपालिका–१० घर भएका दाहालको टाउकामा पछाडि चोट देखिएको र घोप्टो अवस्थामा रहेको, ढोका बन्द र झ्याल खुला अवस्थामा रहेको देखिएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयमार्फत तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा दाहालसँगै हिँडडुल गरिरहने राइनास –३ का ३० वर्षीय सागर परियारको ढुंगा प्रहारबाट दाहालको मृत्यु भएको खुल्न आएको प्रहरीले जनाएको छ । उनका अनुसार खोजतलासका क्रममा परियारलाई साथीसँगै बस्दै गरेको अवस्थामा सोमबार बिहान ४ बजेतिर बेंसीसहरबाट पक्रकाउ गरिएको छ ।

डीएसपी बोहराका अनुसार घटनाका दिन शनिबार बेलुकी छिमेकीको पसलमा रक्सी सेवन गरेर साथमा रक्सी र मासु लिएर दाहलको कोठामा गएको र दुवैजनाले विहानपख ३–४ बजेसम्म रक्सी खाँदै गर्दा विवाद बढेको खुलेको छ । विवादका क्रममा परियारले दाहाललाई ढुंगा प्रहार गरेको सोधपुछका क्रममा परियारले भनेका छन् ।

‘पक्राउपछि सोधपुछका क्रममा दुवैजना बसेर रक्सी खाँदै गरेको र आपसमा विवाद हुँदा नजिकै रहेको ढुंगा प्रहारबाट दाहालको मृत्यु भएको परियारले स्वीकारेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।