
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा नजिकिदै गरेको नेपालीहरुको महान् पर्व वडा दशैंलाई लक्षित हाटबजार सञ्चालन गरिएको छ। कृषि तथा पशु हाटबजार सञ्चालन समितिले मस्र्याङ्दी गाउँपालिका ३ खुदीस्थित कृषि तथा पशु सेवा केन्द्र परिसरमा हाटबजार सञ्चालन गरेको छ ।
असोजको १० गते शुक्रबारदेखि सुरु हाटबजार १२ गते सम्म सञ्चालनमा आउने छ । हाटबजारमा किसानले उत्पादन गरेका तरकारी फलफुल, माछा, मासु तथा दशैंका लागि भनेर भेडाबाख्रा समेत बिक्रिका लागि ल्याएका छन् । बजार मुल्य भन्दा केही सस्तो हुने र गाउँठाउँमा उत्पादन भएको अर्गानिक तरकारी फलफुल लगायतका समाग्री पाउने भएपछि किनमेल गर्नेको समेत भिड लागेको थियो ।

किसानले उत्पादनलाई सहजै नजिकै बिक्री गर्न र उपभोक्ताले पनि आफ्नै गाउँठाउँमा ताजा फलफूल तरकारी लगायतका कृषि उपज सुपथ मूल्यमा पाउने भएकाले दुवै पक्षलाई यसले फाइदा पुग्ने मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।
स्थानीय उत्पादनको बजारीकरणलाई व्यवस्थित गर्ने उदेश्यले यसअघि मासिक रुपमा लाग्दै आएको हाटबजार गत भदौ १ गतेबाट साप्ताहिक रुपमा हरेक हप्ता आइतबार सञ्चालन गरिदै आएको थियो । गाउँपालिकाले कृषि तथा पशु हाटबजार कार्यविधि बनाएको छ ।









