
आज विश्वकर्मा पूजा र वास्तु दिवस । स्वर्ग लोक, मत्र्यलोक (मध्य लोक) र पाताल लोक, गरी तीन लोकको निर्माण गरेका भगवान् विश्वकर्मा पूजा वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ। ज्योतिष शास्त्र अनुसार असोज १ गते को दिन मनाउने गरिएको विश्वकर्मा पूजाको दिन सूर्यदेव कन्या राशिमा प्रवेश गर्छन्।
विश्वकर्मा पूजा महोत्सव आज कन्या संक्रान्ति, लगायत कार्तिक शुक्ल प्रतिपदा (गोवर्धन पूजा) को दिन पनि मनाउने चलन रहेको पाइन्छ। नेपालमा दसैँको उपलक्षमा महानवमी अर्थात् कालरात्रिको दिन गुप्त पूजा गरी राखिएका हात–हतियार र ज्याबलहरू (आयुध) का साथै घरघरमा हुने औजार, मेशिन लगायत सवारीसाधन आदिलाई बलि दिई रगत छिम्काई विश्वकर्मा पूजा सम्पन्न गरिन्छ।
शास्त्र तथा पुराणहरूमा भगवान् विश्वकर्मालाई वास्तु शास्त्र तथा यन्त्रहरूको देवता मानिएको छ। खास गरी औद्योगिक क्षेत्र लगायत कल–कारखाना, फलामका सामान बनाउने पसल, सवारी साधनका पसल तथा मेसिन आदि मर्मत गर्ने ठाउँ (वर्कसप) आदिमा विश्वकर्मा पूजा गरी प्रसाद चढाउने गरिन्छ।
आजको दिन मेसिन सफा गरी रंग रोगन गर्ने र पूजा गर्ने गरिन्छ। आजको दिन औजार तथा मेसिन आदिमा काम गर्न नहुने मान्यता भएकोले प्राय यी कल कारखानाहरू आज बन्द रहन्छन्।
आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसको रूपमा पनि मनाउने चलन रहेको छ।









