लमजुङबाट ३० जना र देशभरबाट ३ हजार ७ सय २३ कैदीबन्दी पक्राउ

-


     नयाँ दीप    
     भाद्र २९ गते २०८२ मा प्रकाशित


’जेन–जी’ आन्दोलनको मौकामा भागेकामध्ये ३ हजार ७ सय २३ कैदीबन्दी पक्राउ परेका छन् । देशभरका विभिन्न कारागारबाट गरी १० हजार ३ सय २० कैदीबन्दी फरार रहेकामा आज आइतबार दिउँसोसम्म ३ हजार ७ सय २३ जना कैदीबन्दी पक्राउ गरी कारागारमा पु¥याएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

अझै धेरै कैदीबन्दी जेल बाहिर रहेकोले सर्तकता अपनाउनुपर्ने उहाँको भनाइ छ । यस्तै प्रदर्शनका कारण प्रहरी कार्यालयका हिरासतबाट फरार भएकामध्ये १ सय ३९ जना थुनुवा पक्राउ परेका छन् । प्रहरीका अनुसार अझै २ हजार १ सय थुनुवा फरार छन् ।

यता जिल्ला कारागार, कास्की र तनहुँबाट भागेका ३० जना थुनुवा तथा कैदीहरु जिल्ला प्रहरी कार्यालय, लमजुङले नियन्त्रणमा लिई कारागार कार्यालय तनहुँमा बुझाईएको छ। कर्तव्य ज्यान ५, ज्यान मार्ने उद्योग १, जवरजस्ती करणी ६, लागिऔषध ५, चोरीडाँका १२, बालबिवाह सम्वन्धी १ जनालाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरि बुझाइएको हो ।

भागेका कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।